हेटौंडा,१५ चैतः बर्डफ्लुका कारण मकवानपुर जिल्लामा हालसम्म ५० हजार दुई सय ३१ कुखुरा, ९ हजार १५ वटा अण्डा र एकहजार चार सय ६३ किलो दाना नष्ट गरिएको छ ।

बर्डफ्लु प्रभावित क्षेत्रमा ४८ वटा पोल्ट्री फार्म रहेकोमा २८ वटा फार्ममा रहेका ५० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको स्थानीय प्रशासनले जनाएको छ । प्रशासन र पशु चिकित्सकको टोलीले सो कुखुरा नष्ट गरेको हो । जिल्लामा बर्डफ्लु व्यापक फैलिएको विषयलाई उच्च प्राथमिकतामा राखेर त्यसलाई नियन्त्रणमा राख्ने प्रयास भैरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताउनुभयो ।
बर्डफ्लु नियन्त्रण गर्नका लागि पशु चिकित्सकको प्रमाणपत्रको आधारमा कुखुराको चल्ला जिल्लामा भित्रिन दिने र बिक्री पनि प्रमाणपत्रको आधारमा गर्न दिइरहेको उहाँले भन्नुभयो ।
बर्डफ्लु संक्रमण नियन्त्रण युनिटका डाक्टर सुशिला श्रेष्ठका अनुसार हालसम्म मकवानपुरका ३२ किसानको फार्ममा ३ चरणमा संक्रमित कुखुरा नष्ट गरिएको बताइएको छ ।
यसैबीच, मकवानपुरको हटिया र कमानेमा थप बर्डफ्लुको संक्रमित कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो । बर्डफ्लुका कारण हेटौंडामा कुखुराको मासु बिक्री बितरणमा कमी आएको व्यवसायीहरुले जनाएका छन् ।