हेटौंडाः नेपाल पत्रकार महासंघ मकवानपुरले आज (बुधबार) बिहान आफ्नै भवनमा होली मिलन कार्यक्रम गरेको छ । रंगहरुको पर्वको रुपमा चिनिने होली आज देशको पहाडी जिल्लाहरुमा मनाइरहँदा पत्रकारहरुको जमघटमा महासंघले कार्यक्रम गरेको हो ।
भोली चैत ७ गते देशको तराई क्षेत्रमा होली पर्व मनाइने छ । विभिन्न रंगहरु दलेर खेलिने यस पर्वलाई नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले पनि आफ्ना सदस्यहरुमाझ रंग साटासाट गर्दै मनाएको हो ।
महासंघ मकवानपुरले हरेक वर्ष होली मिलन कार्यक्रम गर्ने गरेको छ । विगतलाई निरन्तरता दिँदै महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंको अध्यक्षतामा होली मिलन कार्यक्रम भएको हो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका महासचिव कृष्ण सारु मगर, बानका उज्ज्वल चौलागाईं, महासंघका उपाध्यक्ष सरिता दाहाल, कुमार अधिकारी, प्रेस चौतारीका केन्द्रीय सदस्य राजन दहाल लगायतको आतिथ्यता थियो ।
पत्रकारहरुको टोलीले हेटौंडा एफएम, रेडियो मकवानपुर लगायत सञ्चारमाध्याममा होली खेलेको थियो । महासंघले होलीलाई सभ्य र भव्य रुपमा खेल्न सम्पूर्णमा आग्रह गरेको छ ।