हेटौंडाः मकवानपुर प्रहरीले बिर्खे खोलाबाट १०३ केजी गाँजासहित बोलेरोका चालकलाई पक्राउ गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–९, बस्ने २४ वर्षीय पूर्णबहादुर थिङ पक्राउ परेका हुन् ।

प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका ५ स्थित बिर्खे खोलाबाट ग १ ज ७२१९ नम्बरको बोलेरो गाडीमा १०३ किलो लागु औषध गाँजा बरामद गरेको जानकारी गराएको हो । पक्राउ परेकालाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम दण्ड सजाय २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख सम्म जरिवाना र सवारी साधन समेत जफत हुने कानूनी प्रावधान रहेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवन कुमार झा समेतको टोलिले प्राप्त गरेको विशेष सूचनाको आधारमा मकवानपुरको राक्सिराङ गाउँपालिका ५ स्थित बिर्खे खोलामा राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको ग १ ज ७२१९ नम्बरको बोलेरो गाडीलाई रोकी जाँच गरेको थियो ।

सवारी जाँच गर्दा गाडीमा सवारी चालक पुर्णबहादुर थिङ रहेको र सो बोलेरोभित्र लुकाई राखेको अवस्थामा प्लास्टिकको ५ वटा बोराभित्र चारपाटे आकारमा १३ वटा पोकामा जम्मा १०३ किलो लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । उक्त गाँजा, मानिस र बोलेरो गाडीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी गराएका छन् ।