हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले होली पर्वलाई सभ्य, शान्त र मर्यादित रुपले मनाउन अनुरोध गर्दै सतर्क रहन सबैलाई अनुरोध गरेको छ । होली मनाउने निहुँमा सामाजिक शान्ति र सद्भावलाई खलल पार्ने खालका गतिबिधी नगर्न प्रहरीले अनुरोध गरेको हो ।

मादक पदार्थ, लागू औषध लगायतका अन्य नशालु पदार्थको प्रयोग नगर्न, अमयार्दित तवरले सवारीसाधन नचलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा कसैलाई पनि जबर्जस्ती अवीर र रङ्ग दल्ने एवम् छ्याप्ने कार्य नगर्न पनि अनुरोध गरेको छ ।

प्लास्टिकजन्य लोला हान्ने, फोहोर पानी र हिलो, मोबिल एवम् अन्य हानिकारक चिजबस्तु नखेल्न तथा नखेलाउन पनि प्रहरीले अनुरोध गरेको छ । साथै, महिला बालबालिका लगायत बाटोमा हिँड्ने यात्रुलाई अनावश्यक दुःख, हैरानी एवम् कष्ट दिने कार्य नगर्न र अन्य असमाजिक गैर कानुनी कार्य नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
कसैको इच्छा विपरित रङ छ्यापे कानून विपरित हुने भएकोले त्यस्ता हर्कत गर्नेलाई कानुन बमोजिम कारवाही गरिने पनि प्रहरी कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।