हेटौंडाः पशु चौपाया अन्तर्गत गोरु र गाइको गैर कानूनी तरिकाबाट ओसारपसार भैरहेको भन्दै त्यसको नियन्त्रणका लागि माओवादी जनमुक्ति सेना पार्टी नेपाल, मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ ।

सो पार्टीका जिल्ला सेक्रेटरी संकल्प सहित प्रशासन पुगेका एक समूहले मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई ज्ञापन पत्र बुझाएका हुन् । “गाई तथा गोरुको गैरकानूनी तरिकाबाट ओसारपसार भैरहेको सम्बन्धमा हाम्रो पार्टीलाई जनगुनासो आइरहेको हुँदा तत्काल जनगुनासो सम्बोधनका लागि प्रशासनको ध्यानाकर्षण गराउँछौं,” विज्ञप्तिमा भनिएको छ ।

साथै ओसारपसारमा संलग्नलाई प्रक्रियागत रुपमा कारबाही नगरिए पार्टीले जनगुनासोको सम्बोधन गर्ने पनि सो पार्टीका सेक्रेटरी संकल्पले बताएका छन् ।