हेटौडा,१ चैत्र । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा पालिएका कुखुरामा बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रका करीब ४१ हजार कुखुरा मकवानपुर प्रशासनले भोलि शनिबार विहानबाट नष्ट गर्ने भएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गको अध्यक्षतामा कुखुरा किसान, व्यवसायी, उपभोक्ता अधिकारकर्मी, सञ्चारकर्मी सहित आज बसेको बैठकले उचित क्षतिपुर्ति सहित संक्रमित क्षेत्रका कुखुरा नष्ट निर्णय गरेको हो । बैठकको निर्णयानुसार प्रतिगोटा जिउदो लेयर्स ९ सय रुपैयाँ, व्रोईलर ४ सय रुपैयाँ, दाना प्रति केजी ६५ रुपैयाँ र अण्डा प्रतिगोटा ११ रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
बैठकको निर्णय अनुसार हेटौंडा ७ नागस्वतीको कमर्शियल लेयर्स फर्मलाई केन्द्र मानी पूर्वतर्फ वडा नम्बर ६ र ७ को सिमाना, पश्चिममा बनदेवी मन्दिर जानेबाटोको पूर्वी सिमाना, उत्तरमा वनदेवी दुग्ध सहकारीको सिमाना बाटो र दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सिमानाको परिधि भित्र रहेका करीब ४१ हजार कुखुरा नष्ट हुने छन् । सो क्षेत्रमा ५० किसानले ७ करोडको लागतमा करीब १ लाख कुखुरा पालन गरेका छन् । बैठकमा पशु सेवा बिभागका बरिष्ठ पशु चिकित्सक रामकुमार कार्की, पशु चिकित्सक बिकेश राउत र प्रबिधिक प्रकाश मगर, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बासु खतिवडा, हेटौंडा उपमहानगरका उपमेयर मिना लामा, कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारी, सञ्चारकर्मी, कुखुरा किसान, तीन वटै सुरक्षा निकाय, सरोकारवाला सहितको सहभागिता रहेको थियो ।