हेटौंडा २८ फागुन
चीनमा अहिले राजनीतिक ‘कुम्भमेला’ चलिरहेको छ । १३औं राष्ट्रिय जनकाँग्रेस (एनपीसी) र चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) का छुट्टाछुट्टै बैठक बेइजिङको दी ग्रेट हल अफ दी पिपल्समा जारी छन् । मार्च ३ मा सुरु भएको सीपीपीसीसीको र मार्च ५ मा सुरु भएको एनपीसीको वार्षिक बैठक मार्च १५ मा समाप्त हुनेछन् । यी दुवै बैठकका भव्य उद्घाटन समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङ उपस्थित हुनुभएको थियो । सीपीपीसीसीका अध्यक्ष वाङयाङ र एनपीसीको उद्घाटनमा चिनियाँ प्रधानमन्त्री ली खचयाङले सन् २०१९ मा चीन सरकारका प्राथमिकता र कार्यभार प्रस्तुत गरेका छन् ।

त्यसो त उद्घाटन सत्रमा प्रतिनिधि, पर्यवेक्षक र विश्वभरका पत्रकारसहित झण्डै १० हजारको उपस्थिति रहेको अधिकारीहरूको भनाइ छ । प्रतिनिधिको सङ्ख्या भने लगभग तीन हजार रहेको एनपीसीका एक प्रवक्ताले बताएका छन् । चिनियाँ संसदको दुई सत्र भनेर चिनिने चालु अधिवेशनले चीनले सन् २०१८ मा भोग्नुपरेका चुनौती र उपलब्धिको समीक्षा र सन् २०१९ मा चीन सरकारले निर्धारण गरेका नीति तथा कार्यक्रम र सोको कार्यान्वयनका लागि ठोस कदममा गहन छलफल भइरहेको बताइएको छ । चिनियाँ संसदको दुई अधिवेशनले सबै तह र तप्काका जनताको सुझावमाथि छलफल गरी आवश्यकताका आधारमा कार्यक्रमको तय र कार्यान्वयन गर्ने गर्छ । राज्यशक्तिको सर्वोच्च निकाय एनपीसीमा चीनका प्रान्त, स्वशासित क्षेत्र, सीधै केन्द्रीय सरकारअन्तर्गत रहेका नगरपालिका, विशेष प्रशासनिक क्षेत्र र चिनियाँ जनमुक्ति सेनाका प्रतिनिधिले सहभागिता जनाउन पाउँछन् । त्यसैगरी सीपीपीसीसीमा भने चिनियाँ कम्युनिस्ट पार्टीभन्दा अन्य राजनीतिक दलमा आबद्ध, प्राज्ञिक क्षेत्रका र विज्ञहरूले प्रतिनिधित्व गर्छन् ।

यो निकाय सरकार र नीति निर्माणबाट टाढै रहने भए पनि राजनीतिक परामर्शमा र समसामयिक विषयमा प्रस्ताव पेश गर्ने महत्त्वपूर्ण अङ्गका रूपमा लिइने गरिन्छ । चीनले आफ्ना समाजमा रहेका केही समस्या पहिचान गरी र उक्त चुनौतीलाई पार लगाउन केही गम्भीर र ठोस कदम चालेको प्रधानमन्त्री लीको लिखित मन्तव्यबाट पनि प्रष्ट हुन्छ । नयाँ युगका लागि समाजवादमा चिनियाँ विशेषतासहितको सी चिनफिङ विचारधारालाई मार्गदर्शन बनाएको चीनले यो वर्षदेखि उच्च गुणस्तरको विकासलाई उच्च जोड दिएको छ । प्रधानमन्त्री लीले प्रस्तुत गरेको दस्तावेजमा सबै वस्तु तथा सेवाको उत्पादनमा उच्च गुणस्तरको विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ । पाँच तहको एकीकृत योजनाले आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक र पर्यावरणीय विकास प्रवद्र्धन गर्दै चीनमा बलियो समाजवादी संस्कृतिको निर्माण गर्ने भनिएको छ ।