हेटौंडा,२५ फागुनः हेटौंडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज गायक निशान भट्टराईले गीत गाएर हेटौंडेली युवालाई नचाएका छन् ।
निशानले भुन्टी, मंसीर महिनामा, भिटिज भिषामा, पछि उमेर ढल्कीन्छ, छोरी भन्दा आमा तरुनी जस्ता दर्जनौं गीत गाएर हजारौंको संख्यामा मेलामा उपस्थित युवायुवतीलाई नचाएका थिए ।
आज शनिबार अन्य दिनभन्दा बढी सहभागी हुँदा मेलामा व्यवस्थापकीय हिसाबले केही कठिनाई समेत देखिएको थियो । ग्राहकको भीड लाग्दा फन पार्क लगायत अधिकांश स्टललाई सेवा दिन हम्मेहम्मे परेको थियो । आज ३१ हजार दर्शकले मेला अवलोकन गरेका मेला आयोजक मकवानपुर उद्योग वाणिज्य संघका महासचिव प्रमोद सिंह रानाभाटले बताए ।
त्यसैगरी स्टेजमा पनि दर्शकको बाक्लो उपस्थिति देखिएको थियो । मेलामा उपस्थित दर्शकलाई लोक गायक सुनिल थापा र हेटौंडेली लोक गायिका रेखा लामाको बेजोड दोहोरीले माहोल सृजना गरेको थियो । उनीहरुले आफ्नो लोक गीतहरु पनि सुनाएका थिए ।
हेटौंडा घर भई राष्ट्रियस्तरमा आफ्नो बेग्लै पहिचान बनाउन सफल गायक तथा संगीतकार चेतन सापकोटाले पनि मेलामा आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रममा बड्स व्याण्डका गायक तथा संगीतकार बिजय कार्कीले पनि प्रस्तुती रहेको थियो ।
मेलामा भोली आइतबार गायक राजनराज शिवाकोटी, लोक गायक शिव हमालको टोलीसहित हेटौंडाका गायक सुजिल कर्माचार्यको प्रस्तुती रहने संघका उपाध्यक्ष तथा मनोरञ्जन समितिका संयोजक गणेश भेटुवालले बताएका छन् ।
आज हेलिकप्टरले २८ फ्लाइट हेटौंडा सिटी टुर गरेको संघका सदस्य तथा हेलिकप्टर समितिका संयोजक माधव ज्ञवालीले जानकारी दिएका छन् । साथै मेलामा आज हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ नेत्र सहायक डा. कृष्णराज ढुङ्गानाको टोलीले एकसय दुई जनाको निःशुल्क आँखा परीक्षण गरिएको संघका उपाध्यक्ष तथा प्राथमिक उपचार समितिका संयोजक कृष्ण कुमार गुप्ताले बताए ।