हेटौंडा २४ फागुनः प्रविधिमैत्री शिक्षक समाज नेपालले आफ्नो क्षेत्र देशभर विस्तार गर्ने उद्देश्यसहित तीन नम्बर प्रदेश अधिवेशन फागुन २५ गते शनिबार हेटौँडामा गर्न लागेकोमा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै शिक्षक समाजले अधिवेशनको तयारी पूरा भएको जानकारी गराएको हो । प्रविधिमैत्री शिक्षक समाज, नेपाल ३ नम्बर प्रदेशका संयोजक जीवन तिमल्सीनाले सम्मेलनको सबै तयारी सकिएको जानकारी दिए । हेटौंडा क्याम्पसमा भोलि शनिबार ११ बजे नेपाल सरकार ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले डिजिटल व्यानरमा उदघाटन गर्ने कार्यक्रम रहेको संयोजक तिमल्सीनाले बताएका छन् ।

प्रदेश तीनको १३ वटै जिल्लाका प्रतिनिधिहरुको उपस्थितिमा अधिवेशन हुने कार्यक्रममा विभिन्न किसिमका प्रविधि सम्बन्धित सामग्रीहरु समेत प्रस्तुत गरिने संयोजक तिमल्सीनाले बताएका छन् ।
पत्रकार सम्मेलनमा प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय उपाध्यक्ष नविन कँडेलले शिक्षण सिकाई, प्रशासनिक कार्यहरु प्रविधि मार्फत छोटो समयमा सरल तरिकाले गर्न प्रविधिमैत्री सिकाई आवश्यक रहेको बताएका थिए ।