हेटौंडा,२४ फागुनः लैंगिक समानताका लागि समान सोच र व्यवहार, समृद्धिको आधार भन्ने राष्ट्रिय नाराका साथ देशभर १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा हेटौंडामा अनेमसंघ र अनेमसंघ क्रान्तिकारीले संयुक्त रुपमा बृहत अन्तरक्रिया कार्यक्रम गरेका छन् ।
दुई संगठनले राजनीतिमा आबद्ध महिलाहरुको सहभागितामा “वर्तमान परिस्थिति र महिला समानता” विषयक अन्तरक्रिया कार्यक्रम गरेका हुन् । अनेमसंघ क्रान्तिकारी मकवानपुरका अध्यक्ष लक्ष्मी पाख्रिनको अध्यक्षतामा सञ्चालित कार्यक्रममा अनेमसंघकी केन्द्रीय सचिव विष्णु ओझाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ३ नम्बर प्रदेशसभा सदस्य मुनु सिग्देलले महिलाहरु लामो संघर्षको इतिहास बोकेर वर्तमान परिस्थितिमा आइपुग्दा पनि पूर्ण रुपमा विभेदको अन्त्य नभइसकेको भन्दै समानताको लागि अझै संघर्ष जरुरी भएको बताइन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, अनेमसंघ क्रान्तिकारी मकवानपुरका इञ्चार्ज मानकुमारी नेपाली पाख्रिन, भीमफेदी गाउँपालिकाका उपप्रमुख पार्वती राना, नेकपा मकवानपुरका सचिवालय सदस्य प्रमिला लामा पुलामी, अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य लक्ष्मी माझी लगायतले नारी दिवसको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अनेमसंघ क्रान्तिकारी मकवानपुरका उपाध्यक्ष सृजना थिङले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा दुबै संगठनमा आवद्ध महिलाहरु जिल्लाका विभिन्न स्थानबाट सहभागी भएका थिए ।