हेटौंडाः ब्लड क्यान्सरसँग जुधिरहेका क्रिकेटर निरज श्रेष्ठको उपचारमा सहयोग पु¥याउने गरी आयोजना गरिएको च्यारिटी म्याचका लागि नेपाली क्रिकेटको राष्ट्रिय टोलीका कप्तान पारस खड्का हेटौंडा आएका छन् ।

हेटौंडा आएपछि भोली हुने म्याचको बारेमा जानकारी दिँदै उनले क्रिकेट खेलाडीहरुको लागि क्रिकेट बोर्ड नहुँदा समस्या भएको बताए । पत्रकार सम्मेलनमा बोल्दै कप्तान खड्काले क्रिकेट बोर्ड नहुँदा मैदान भित्र नभई मैदान बाहिर पनि निरन्तर संघर्ष गर्नुपरेको खुलासा गरेका हुन् ।

मकवानपुर क्रिकेटका पूर्व कप्तानसमेत रहेका निरज श्रेष्ठबारे बोल्दै उनले एउटा क्रिकेट खेलाडीलाई अफ्ठयारो पर्दा अर्को खेलाडी चुप लागेर नबस्ने बताए । साथै उनले क्रिकेटर श्रेष्ठको सहयोगका लागि सबैलाई आग्रह समेत गरेका छन् । कप्तान खड्काले मकवानपुरमा माथिल्लो स्तरको क्रिकेट पहिलो चोटी आयोजना भएको हुँदा जिल्लामा क्रिकेटको क्रेज देखिने समेत बताए ।

भोलीको म्याचमा नेपाली क्रिकेट टोलीको अधिकांश खेलाडीले पहिलो चोटी हेटौंडाको मैदानमा उत्रन लागेका हुन् । मकवानपुर क्रिकेट संघ र मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनमा शनिबार राष्ट्रिय टोलीको पारस–११ र मकवानपुर ११ बीच च्यारिटी खेल हुन लागेको हो ।
खेलबाट उठेको सम्पूर्ण रकम मकवानपुर क्रिकेट क्लबका पूर्वकप्तान निरज श्रेष्ठको उपचारमा सहयोग पु¥याउने आयोजकले जानकारी दिएको छ ।