प्रमुख जिल्ला अधिकारी तामाङलाई ध्यानाकर्षण पत्र बुझाउँदै मकवानपुरका विद्यार्थीहरु

हेटौंडाः सार्वजनिक यातायातमा पाउनुपर्ने नियमअनुसारको छुट कार्यान्वयन गर्न माग गर्दै मकवानपुरका विद्यार्थीहरुले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
विद्यार्थी संगठनहरुले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय पुगेर मकवानपुरका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

पटक–पटक टेम्पो तथा मझौला यातायात व्यवसायी संघ र नारायणी यातायात व्यवसायी संघमा लिखित तथा मौखिक रुपमा ध्यानाकर्षण गराउँदा समेत कुनै प्रतिक्रिया नदेखाएको र सम्बन्धित निकाय मौन रहेको भन्दै विद्यार्थीहरु प्रमुख जिल्ला अधिकारीसमक्ष पुगेका हुन् । उनीहरुले विद्यार्थी छुट अबिलम्ब कार्यान्वयन गर्न माग गरेका छन् ।

परिचयपत्रको आधारमा नियमअनुसारको छुट हुनुपर्ने, साझा बसमा ४५ प्रतिशत छुट हुनुपर्ने, टेम्पो तथा मझौला यातायात व्यवसायी संघमा प्रचलित नियमअनुसार छुट हुनुपर्ने र बेलुकीको समयमा पनि यातायात सञ्चालन हुनुपर्ने माग विद्यार्थीहरुको छ । उनीहरुले माग सुनुवाई नभए आन्दोलनमा जाने चेतावनी पनि दिएका छन् ।