हेटौंडा उपमहानगरपालिकाले नयाँ दमकल ल्याएको छ । दमकल कम भएकै कारण आगलागीका घटना नियन्त्रण गर्न समस्या परेकाले अर्को दमकल थपिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको हो ।
पहिलेको भन्दा ठूलो र बढी क्षमताको दमकल कार्यालयमा भित्रीएको बताइएको छ । म्याप कम्पनीको ४ हजार ५ सय लिटर पानी क्षमताको दमकल ल्याइएको र अब कार्यान्वयनमा लगिएको हो । उपमहानगरपालिकामा रहेको पुरानो दमकल ४ हजार लिटर क्षमताको रहेको छ । ३० बर्ष पुरानो दमकल भएकाले अर्को दमकलको आवश्यकता थियो ।
उपमहानगरपालिकाले टेण्डर मार्फत ५२ लाख रुपैया लागतमा दमकल खरिद गरिएको मेयर हरिबहादुर महतले बताए । एउटा मात्र दमकल भएका कारण नगर, जिल्ला र आसपासका क्षेत्रमा आगलागी नियन्त्रण गर्नका लागि समस्या थियो ।
हिउँदमा धेरैजसो आगलागीका घटना हुने गरेका छन् । हेटौंडामा दमकल कम भएकै कारण केही महिनाअघि यहाँस्थित ओम्याक्स हलमा आगलागी हुँदा बीरगन्ज, पथलैया लगायतका क्षेत्रबाट दमकल मगाउनुपरेको थियो ।