हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा फागुन १८ गतेबाट हेटौंडाको क्याम्पा चौरमा भईरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा नेपालको राष्ट्रिय झण्डा आकर्षणको केन्द्र बनेको छ । मेला अवलोकन गर्न आउने अधिकांशले सो झण्डालाई पृष्ठभूमि बनाएर तस्वीर लिने गरेका छन् ।
हेटौंडाका अधिकांशले मेलाको तस्वीर सार्वजनिक गर्दा ठूलो आकारको राष्ट्रिय झण्डासहितको आकर्षक तस्वीर समेटेको पाइन्छ । मेलाका दर्शकहरु झण्डा देखेपछि सेल्फी नलिई फर्किँदैनन् ।
अन्य आकर्षणको रुपमा मेलामा दैनिक विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको छ भने निःशुल्क दन्त शिविर, बाल उद्यान, हेलिकप्टर सिटी टुर, कृषि, पर्यटन, निःशुल्क स्वास्थ्य शिविर, स्थानीय तथा घरेलु उत्पादन प्रदर्शनी तथा बिक्रीमा रहेको छ । करिब ४ सय ५० स्टल रहेको मेला आगामी फागुन २८ गते सम्म सञ्चालन हुने छ ।