हेटौंडाः मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकास्थित सिम्भञ्ज्याङ र दामनमा हिमपात भएको छ । स्थानीयका अनुसार हिजो रातीबाट निरन्तर हिमपात भएको हो ।
हिमपातको कारण जनजीवन प्रभावित भएको स्थानीयहरुले बताएका छन् । हिमपातको कारण सवारीसाधन समेत ठप्प बनेका छन् । हिमपात भएपछि अन्य स्थानबाट दामन जानेको संख्या बृद्धि भएको छ ।
हिमपातले पर्यटकहरुलाई आकर्षित गरेको हो । सो क्षेत्रका रुखहरुलाई हिउँले सेताम्य बनाएको छ । दामनमा हिउँको सुन्दरता हेर्नको लागि पर्यटकहरुको घुँइचो लाग्न सुरु भएको ।
यसैबीच मकवानपुरको उत्तरी क्षेत्रमा रहेको इन्द्रसरोबर गाउँपालिकास्थित फाखेलमा पनि हिँउ परेको छ । हिउँ परेपछि हेटौँडाबाट फाखेल हुँदै काठमाण्डौँ जाने सुमो तथा अन्य यातायातको साधन चल्न नसकेको फाखेलबाट आशबहादुर लामाले बताएको खबरब्रेकमा समाचार छ ।
इन्द्रसरोबर गाउँपालिका थुम्की लगायतको क्षेत्रमा हिउँले गाँउ नै सेताम्मे भएको छ । फाखेलमा बाक्लो हिउँ दशकपछि परेको स्थानीयहरुले बताएका छन् । काठमाण्डौँको लागि हिँडेका यात्रुहरु समेत फाखेलमा हिउँ खेल्दै रमाएको उनले बताए ।