हेटौंडा,
फागुन १५
मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको राष्ट्रिय औद्योगिक व्यापार मेला २०७५मा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । हेटौंडाको क्याम्पाडाँडा चौरमा व्यापार मेलासंगैै मेला हेर्न आउँदा दर्शकहरुले मनोरञ्जन मात्र नभई स्वास्थ्य शिविर संचालन गरि स्वास्थ्य सेवा समेतको व्यवस्था गरिएको संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीले बताए ।

फागुन १६ गतेबाट हेटौंडा ५ क्याम्पा डाँडामा हुन लागेको मेलामा ९ दिन विभिन्न रोगको छुट्टाछुट्टै विशेषज्ञ डाक्टरहरुद्धारा सेवा दिने संघका उपाध्यक्ष तथा मेलाका शैक्षिक तथा प्राथमिक उपचार व्यवस्थापन समितिका संयोजक कृष्ण कुमार गुप्ताले बताए । मेलामा १७ गते शुक्रबार छाला रोग विशेषज्ञ डा. रजनी अग्रवालद्धारा स्वास्थ्य सेवा दिने भएको छ । १८ गते शनिबार नाक,कान,घाँटी सम्बन्धीका डा.इनक्लाब ढुङ्गानाले सेवा दिने जनाइएको छ । त्यस्तै, १९ गते आइतबार मधुमेह, प्रेसर,तथा क्यान्सर रोगका विशेषज्ञ डा.सुरेश कुमार दीपले भरतपुरबाट आइ सेवा दिनेछन्, । २० गते सोमबार हेटौंडाका बाल रोग विशेषज्ञ डा. हरि बहादुर खड्काले बाल रोगको सेवा प्रदान गर्ने जनाइएको छ । २१ गते देखि २४ गते सम्म कलेज अफ मेडिकल साइन्सेस भरतपुरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुद्धारा स्वास्थ्य परिक्षण गरिने समितिका संयोजक गुप्ताले बताए ।

२१ गते मंगलबार मुटु रोग विभाग विशेषज्ञ डाक्टरबाट सेवा हुने,२२ गते बुधबार नाक, कान,घाँटी रोग विभागबाट सेवा हुने, २३ गते विहीबार दन्त रोग विभागबाट सेवा हुने र २४ शुक्रबार स्त्री तथा प्रस्तुती विभागका डाक्टरहरुबाट सेवा दिने जनाइएको छ । त्यस्तै मेलाको २५ गते शनिबार हेटौडाको सामुदायिक आँखा अस्पतालले सेवा दिने संयोेजक गुप्ताले बताए । प्रवक्ता अधिकारीका अनुसार मेला घाटानाफाको मात्र नभई सामाजिक सेवा प्रदान गर्ने हेतुले पनि आयोेजना गरिएको बताए ।