हेटौंडा,
फागुन १५
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७, ८ र ११ वडामा अण्डा तथा मासुका लागि पालिएका हजारौ कुखुरामा गम्भीर प्रकृतिको संक्रमण देखिएको छ । संक्रमणको कारण १ साता भित्र सो क्षेत्रका करीब १५ हजार कुखुराहरु मरिसकेका छन् । अण्डाका लागि पालिएका लेयर्स कुखुरा मर्न थालेपछि बर्डफ्लुको आशंका गरिएको हो । दैनिक ठूलो संख्यामा मरेपछि किसानको खोर नै रित्तिन थालेको छ भने यसबाट लाखौ रकम क्षति भएको किसानले बताएका छन् ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर चेतनारायण खरेलका अनुसार संकलन गरिएका नमुना चितवन पठाइने र रिपोर्टका आधारमा अन्य काम अगाडि बढ्ने बताएका थिए ।


पशु चिकित्सक सरोज खतिवडाको ल्याब परिक्षणबाट आएको परिणामलाई भेटेरिनरी अस्पताल केन्द्रले गुपचुप राखी बास्तविक रोगको पहिचान, कुखुराजन्य उत्पादन खान मिल्ने वा नमिल्ने निक्र्यौल नहुँदै स्थानीय प्रशासनलाई समेत जानकारी नदिई कुखुरा व्यवसायीसँग मिलेमतो गरी रिजल्ट लुकाएर कुखुरा बिक्री गर्न दिएको उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष बासु खतिवडाले बताएका छन् । यसबाट मानव स्वास्थ्यलाई असर गरेको प्रमाणित भएमा गल्ती गर्ने उपर मञ्चले कानूनीबाटो अपनाउने चेतावनीसमेत दिएका छन् ।


यसैविच कुखुरा व्यवसायी संघद्धारा पत्रकार सम्मेलन गरी गम्भारो र रानीखेत जस्ता रोगका कारण कुखरा मरेको हो, बर्डफ्लुुको कारण होईन भनेर दावी गरेका छन् ।