हेटौंडाः हेटौंडामा रहेको बन विज्ञान अध्ययन संस्थानका कार्यवाहक अध्यक्षले भ्रष्टाचार गरेको भन्दै अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले त्यसको विरोध गरेका छन् ।
आज दुई संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै का.वा. अध्यक्षको राजीनामा माग गरेका हुन् ।
विद्यार्थी संगठनले स्ववियुमा भएको भ्रष्टाचार र का.वा. अध्यक्षको मनोमानी बिरुद्ध प्रदर्शन पनि गरेका हुन् ।
समानुपातिकतर्फ नेविसंघबाट निर्वाचित उपाध्यक्ष तथा हाल कार्यवाहक अध्यक्ष सुदिप भट्टराईले गत मंसीरमा स्ववियु पदाधिकारी कसैलाई जानकारी नै नदिई ४० हजार रुपैयाँ रकम झिकेको उनीहरुको आरोप छ ।
‘का.वा. अध्यक्षले स्ववियु कोषाध्यक्षलाई समेत झुक्याई मनोमानी रुपमा रकम निकालेको स्टेटमेन्टबाट देखिएको छ’, क्रान्तिकारीका अध्यक्ष सरोज बल्लभ भट्टराई र अनेरास्ववियुका अध्यक्ष अरुण सुवेदीले संयुक्त रुपमा हस्ताक्षर गरी निकालिएको विज्ञप्तिमा उल्लेख छ ।’ साथै, सो रकम व्यक्तिगत रुपमा प्रयोग गरेको उनीहरुको आरोप छ ।
मनोमानी रुपमा निकालिएको ४० हजार रुपैयाँ रकम फिर्ता गर्दै का.वा. अध्यक्ष भट्टराईले पदबाट राजीनामा दिनुपर्ने माग विज्ञप्तिमा गरिएको छ । उनीहरुले रकम दुरुपयोग भएको खण्डमा कडा कदम चाल्ने चेतावनी समेत दिएका छन् ।