हेटौंडाः जनप्रिय मावि प्राविधिक शिक्षालयकी मीरा कार्की उत्कृष्ट वक्ता बनेकी छन् । विद्यालयमा शिक्षा दिवसको अवसर पारेर आज आयोजित ‘राष्ट्र विकासमा कृषि शिक्षाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा सहभागी १३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले प्रथम स्थान हासिल गरेकी हुन् ।
प्रतियोगितामा मदन पुन मगर दोस्रो, गोकर्ण लामा तेस्रो र प्रदीप कुमार राय चतुर्थ भएका थिए । शिक्षालयका प्रशिक्षक सुजन कँडेलको संयोजनमा संचालित प्रतियोगितामा १४ जना प्रतियोगी सहभागी थिए ।
कार्यक्रममा वक्तृत्व प्रस्तुत गर्ने विद्यार्थीहरूले धेरै प्रतिशत जनताले कृषि पेशा गर्ने भएपनि निर्वाहमुखी मात्र रहेको र अब व्यवसायिक कृषि अँगाल्नुपर्ने भन्दै त्यसबाट मात्रै देशको विकास हुने तर्क राखेका थिए । प्राविधिक शिक्षालयका प्राचार्य नमराज अर्यालको सभाध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रशिक्षक महेन्द्र सिंह धामीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कविहरू सुवास खनाल र अनमोल कँडेल तथा पत्रकार सुनिल गौतम निर्णायक रहेका थिए ।