हेटौंडाः अष्ट्रेलियामा अध्ययन गर्न जाँदा एक हजारभन्दा बढी नेपाली विद्यार्थी बिचल्लीमा परेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उनीहरुको उद्धार एवम् उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत बिचल्लीमा परेका विद्यार्थीका साथै अष्ट्रेलियास्थित काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन गरिसकिएको जनाएका हुन् ।
‘हजारौं नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेका छन् र त्यसप्रति हामी अनुगृहित पनि छौँ तर स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत् दर्ता र सम्बन्धनबेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्योलमा पुर्याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थीसमेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले अभिभावकसँगै हामीलाई पनि मर्माहत तुल्याएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने परामर्शदाताबारे आवश्यक विवरण सङ्कलन गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन समेत काङ्ग्रेसले नेपाल सरकारको ध्यानाकर्षण गराएको स्वास्थ्यखबर डटकममा समाचार छ ।