हेटौंडाः उपभोक्ता आफैले जोगाएको सामुदायिक वनमा कानूनी प्रावधानका कारण उनीहरुकै पहुँच नभएको सामुदायिक बन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले बताएकी छन् ।
मकवानपुरको मनहरी गाउँपालिकामा फागुन ५ देखी ७ गतेसम्म भएको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा हेटौँडाको न्युज क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघकी अध्यक्ष पाठकले यस्तो बताएकी हुन् । उनले सामुदायिक वन माथि १० प्रतिशत कर लगाउने गरि वन ऐन संसोधन भएकोमा आपत्ती प्रकट गरिन् ।
पत्रकार सम्मेलनमा बोल्दै पाठकले सामुदायिक वनलाई सरकारले राष्ट्रिय गौरबको आयोजनाको रुपमा लैजानुपर्नेमा जोड दिँदै वैज्ञानिक वन ब्यवस्थापनको नाममा वन फँडानी गर्ने, जैविक विविधता नष्ट गर्ने, समुदायको परम्परागत सिपको अवमुल्यन गर्ने काम गरेको भन्दै यस्तो क्रियाकलाप तत्काल बन्द गर्न समेत आग्रह गरिन् ।
अध्यक्ष पाठकले चुरे संरक्षणको नाउँमा स्थानीय उपभोक्ताको अधिकार हनन् गरेको भन्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष ऐन २०२९ अहिलेपनि पञ्चयातकालिन ब्यवस्थाको जस्तै रहेको बताईन् । मकवानपुरको मनहरी गाउँपालिकामा २ दिन चलेको बैठकले १४ बुँदे घोषणपत्र समेत जारी गरेको छ ।