हेटौंडाः स्ववियु निर्वाचनको निर्धारित मिति नजिकिँदा पनि त्रिभुवन विश्वविद्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक नगरेको भन्दै निर्वाचन गराउन दवावस्वरुप विद्यार्थी संगठनहरुले देशभर ध्यानाकर्षणपत्र बुझाएका छन् ।
विगतमा अत्यन्त प्रतिकूल अवस्थामा समेत स्ववियु निर्वाचन नरोकिएको इतिहास रहेको भन्दै तोकिएकै मितिमा निर्वाचन गराउन संगठनहरुले त्रिविलाई दवाव दिएका हुन् ।
यसै सन्दर्भमा आज हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरुले क्याम्पस प्रशासनमार्फत त्रिवि कुलपतिलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
अनेरास्ववियु (क्रान्तिकारी)का बन विज्ञान अध्ययन संस्थान इकाई कार्यवाहक अध्यक्ष सरोज बल्लभ भट्टराई र अनेरास्ववियुका इकाई कार्यबाहक अध्यक्ष सुशनसिं केसीले संयुक्त रुपमा हस्ताक्षर गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले भ्रष्ट प्रशासन विपक्षी संगठनको आडमा चुनाव नगराउने खेलमा रहेको आरोप लगाए । विरोधीहरु निर्वाचन हार्ने डरले चुनाव नगराउने खेलमा रहेको भन्दै अर्का अध्यक्ष केसीले विपक्षी संगठनको यस्तो मनसायलाई त्रिविले सहयोग पुर्याएको बताए । साथै, उनीहरुले कुनैपनि हालतमा तोकिएकै मितिमा चुनाव गराउन संगठनले दवावमूलक कार्यक्रमलाई निरन्तरता दिने बताए ।
यसैगरी स्ववियु निर्वाचन हुने मकवानपुरका सबै क्याम्पसहरु (मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस)मा पनि विद्यार्थी संगठनहरुले तोकिएकै मितिमा स्ववियु निर्वाचन सम्पन्न गराउन दवावमूलक कार्यक्रमको आयोजना गरेका छन् ।