– नानीमैया विष्ट
नेपाली पत्रकारिता जगतमा महिला सम्पादकहरुको नाम लिनु पर्दा औलामा गनिने जति मात्र छन् । त्यसको पछाडी कारण के हो त ? के महिला पत्रकारहरु त्यो स्थानमा पुग्नै नसक्ने हुन् त ? के वास्तवमै महिलाहरुको बौद्धिक स्तर, क्षमता र योग्यताले त्यहाँसम्म पुग्ने हैसियत नदिएको हो त ? तथ्यहरु अध्ययन गर्दा सुगम र केन्द्रमा महिला पत्रकारहरुको अवस्था, क्रियाशिलता टिकाउ वन्न सकिरहेको देखिदैन भने मोफसलमा झन कुन अवस्थामा होला ? अनुमान लगाउन कठिन छैन। मकवानपुर, चितवन देखि विरगन्जसम्मलाई कार्यक्षेत्र वनाउँदै एक दशकयता पत्रकारिता गर्दै आईरहनु भएका पत्रकार रमा कार्की (नाम परिवर्तित) नै पेशावाट पलायन हुनु परेको एक उदाहरण हुन् । समाचार संकलन देखि सम्पादन सम्ममै राम्रो दख्खल राख्दै आउनुभएकी कार्की मिहेनति र दक्ष भएपनि पत्रकारिता पेशामा टिक्न सक्नुभएन । उहाँ एक प्रतिनिधि पात्र मात्र हो । उहाँजस्तै अन्य धेरै महिला पत्रकारहरु पारिश्रमिकमा असमानता, क्षमता र बृत्ति विकासका लागि कम अवसर, पुरुष सहकर्मीले गर्ने व्यवहार,(सम्मानजनक र संवेदनशील नहुनु), कार्यस्थलमा बोलिने भाषा र प्रतिकुल व्यवहारका कारण पनि पलायन भएको देखिन्छ । साथै आफ्नो साधनस्रोत नहुँदा पुरुष साथीसँग लिफ्ट मागेर हिँड्नुपर्ने बाध्यतालाई चरित्रसँग जोडेर कुरा काट्ने प्रवृत्ति छ । सूचनास्रोत र आधिकारिक निकायमा रहने व्यक्तिहरु समेतले महिला पत्रकारलाई गर्ने अविश्वास र अपमानका कारण धेरै महिला पत्रकारहरु अन्त्यसम्म यही पेशामा टिकिरहन सकेका छैनन ।
पत्रकारिता गर्दा साँझ विहान समेत नभनी खटिनुपर्ने हुन्छ । विवेष गरेर विवाहित महिला पत्रकारहरुका लागि कतिपय अवस्थामा घर परिवारबाटै असहयोग हुने गरेको पाईन्छ । पुरुष पत्रकारसरह काममा प्रतिस्पर्धा गर्न नसक्ने भनि कार्यक्षेत्रमा हतोत्साहित वनाउने, पारिश्रमिकमा विभेद, समयमा पारिश्रमिक नपाउने र असाध्यै न्यून पारिश्रमिकमा काम गर्नुपर्ने जस्ता अनगिन्ती समस्याका कारण पनि महिला पत्रकारहरु आफनो पेशामा दिगो रुपमा अडिन नसकेका हुन् ।
त्यसो त राष्ट्रिय मिडियामा काम गर्ने केही पुरुष पत्रकारहरु बाहेक स्थानीय मिडियामा काम गर्ने पत्रकारहरुले पनि कम समस्या चाँही भोगेका हुदैनन् । तर समस्या यति फरक हो कि महिला पत्रकारले व्यहोर्नुपर्ने लैङ्गिक असमानता चाँही उनीहरुले भोग्नुपर्दैन । ती मध्ये पनि सरकारी र राष्ट्रिय स्तरको मिडियाहरुमा काम गर्ने महिला पत्रकारको अवस्था फेरी अन्यको भन्दा राम्रै देखिएको छ । तर त्यहाँ पनि भनेको जस्तो अवसर अत्यन्त कमै मात्र महिला पत्रकारले पाएका छन् ।
नेपाली महिला पत्रकारको इतिहास :
नेपालमा १९५८ बाट प्रकाशन शुरु गरेको गोरखापत्र नै नेपाली पत्रकारिताको सुरुवातको विन्दु हो । तर महिला आबद्ध भएर ‘महिला मासिक’ नामको पत्रिकामा महिलाले नै सम्पादन गरेको इतिहासको शुरुवात भने वि.स.२००८ साललाई लिइन्छ । नेपालको पहिलो महिला सम्पादकको भूमिका निर्वाह गर्नेमा साधना प्रधान र कामाक्षादेवी हुन् । दुईजना आटिला महिलाहरुले शुरु गरेको ‘महिला मासिक’ नेपाली माटोमा राम्रैसँग फस्टायो । जसमा थुप्रै हस्तीहरुले काँधमा काँध मिलाएर नेपाली पत्रकारितामा महिला पत्रकारहरुलाई बाटो देखाउने काम गरे । त्यस्तै कुन्तिदेवीको सम्पादनमा ‘प्रतिभा’, रमादेवीको सम्पादनमा ‘जनविकास’, लक्ष्मीदेवी चित्रकारको सम्पादनमा ‘ज्ञान विकास’, शशिकला शर्माको सम्पादनमा ‘स्वास्नीमान्छे’ लगायतका प्रकाशनहरु २०२४ सालसम्म आइपुग्दाका राम्रा र आशा लाग्दा प्रकाशनहरु रहेको २०६८ मा पत्रकार तृष्णा कुँवरले लेखेको लेखबाट देखिन्छ ।
यो अवधीमा राजनीतिक संगठन विशेषगरी नेपाल महिला संगठनले विभिन्न कालखण्डमा आफ्ना थुप्रै मुखपत्रहरु महिलाहरुले नै सम्पादन गरेर प्रकाशित भएको देखिन्छ । त्यसो त २०४१ सालमा नेपाल टेलिभिजनको स्थापना भएपछि थुप्रै महिला हस्तीहरुले आफ्नो पकट जमाए । हामीले सुनिरहने नामहरु शान्ता श्रेष्ठ, धन लामा, कृष्णा ताम्राकार, बन्दना राणा, निर्मला आचार्य, माया गिरी, दिपा गौतम, विना गुरुङ, नुपुर भट्टाचार्य, मनिषा घिमीरे, रन्जना शर्मा, लगायतका अग्रणी महिला संचारकर्मीहरु सोही समयबाट स्थापित भए । सार्वजनिक सभासम्मेलन, सूचना, नाटक, समाचार आदिमा महिलाका स्वरहरु र प्रस्तुतीहरु समाजमा छाउन थाल्यो । २०४६ को परिवर्तनपछि राजधानीका मात्र होइन, राजधानी बाहिरका छोरीहरुले आफ्नो अधिकार र कामको बारेमा बुझ्ने मौका पाए । क्षेत्री बाहुन मात्र होइन, जनजाती, दलित, मधेसी लगायतका समुदायका छोरीहरुलाई थप उर्जा मिलेको देखिन्छ । बविता बस्नेत, यशोदा तिमल्सिना, अनिता विन्दु, निर्मला शर्मा, प्रतिमा बाँसकोटा, आरती चटौत लगायतका अग्रणी महिला पत्रकारहरु ०४६ को परिवर्तनले जन्माएको हो भन्दा फरक नपर्ला । त्यही समयदेखि संचारक्षेत्रमा तिव्रगतिमा विकास भएको पाइन्छ । हामी अहिले त्यही जगमा टेकेर हिडिरहेका छौं ।
महिला पत्रकारको अवस्था :
नेपाल पत्रकार महासंघको पछिल्लो डाँटा अनुसार देशभर १० हजार पत्रकार छन् । त्यसमा महिला पत्रकार जम्मा १६.५ प्रतिशत मात्र छन् । त्यो पनि धेरैजसो एफ.एम. र टेलिभिजनमा काम गर्ने छन् । प्रिन्ट मिडियामा काम गर्ने महिला पत्रकारहरुको संख्या न्युन छ । यो निकै दया लाग्दो र सोचनीय अवस्था हो । राइजिङ नेपालका डा. रविनमान शाक्यले सन २०१५ मा गरेको एक अध्ययनका अनुसार, देशभर ९ हजार पत्रकारमा महिला पत्रकारको संख्या जम्माजम्मी ८ सय मात्र रहेको छ ।
त्यस्तै संचारिका समूहले सन् २०११ मा काठ्माण्डौ उपत्यकामा पत्रकारिता गरिरहेका महिला पत्रकारहरुको अवस्थाबारे गरेको अध्ययनमा ६५ प्रतिशत महिला पत्रकारहरु एफ.एम.मा कार्यरत्त रहेको देखाएको थियो । जसमध्ये १९ प्रतिशत टेलिभिजनमा, १२ प्रतिशत रेडियोमा र ४ प्रतिशत डिजिटल मिडियामा काम गर्छन् । त्यस्तै अध्ययनले अर्को के पनि देखाएको थियो भने ५४ प्रतिशत महिला पत्रकारहरु प्रिन्ट मिडियामा काम गर्छन् भने ३७ प्रतिशत इलोक्ट्रोनिक मिडियामा काम गर्छन् । त्यसो त त्यहि अनुसन्धानबाट के पनि पत्ता लागेको छ भने ७५ प्रतिशत महिला पत्रकार निजी क्षेत्रको मिडिया हाउसमा काम गर्छन भने २५ प्रतिशत सरकारी मिडियामा काम गर्छन् ।
नेपाल पत्रकार महासंघ सबै पत्रकारको छाता संस्था हो । यसले विशेषगरी श्रमजीवी पत्रकारहरुको हक, अधिकारको वकालत गदै आएको छ । त्यतिमात्र होइन पत्रकारका कर्तव्य र दायित्वको विषयमा पनि पत्रकारलाई झक्झकाउने काम गर्छ । तर यसले शुद्धिकरणको सवालमा ध्यान दिन आवश्यक छ । कतिपय अनुभवी र वरिष्ठ पत्रकारहरुले नै यो तिमीहरुले गर्ने पेशा होइन भनेर हत्तोत्साही गर्ने प्रवृत्ति वढ्दो छ । तर यति हुँदाहुँदैपनि अहिले अर्को उत्साहजनक पाटो भनेको पत्रकार महासंघको केन्द्रमा उपाध्यक्ष पदसम्म यशोदा तिमल्सिना, अनिता विन्दु पुगेका छन् । जिल्लामा पनि उपाध्यक्ष अनिवार्य महिला हुनुपर्ने बाध्यकारी अवस्था आएपछि त्यसले अलि उर्जा थपेको छ । अझैपनि सरसर्ती हेर्दा के प्रश्न थपिन्छ भने, अझैपनि नेपाली महिला पत्रकारहरुले अन्तिम समयसम्म आफुलाई यही पेशामा टिकाई राख्न सक्लान् र ? आफ्नो सम्पूर्ण उर्जा यो क्षेत्रमा लगाईसक्दा पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको प्रति उनीहरुले गुनासो समेत गर्ने गरेको भेटिन्छ ।
पत्रकारितामा समानता र अवसर :
पत्रकारिता यस्तो पेशा हो त्यो पुरुष पत्रकार वा महिला जसले गरेपनि त्यसमा भिन्नता आउदैन । त्यसले दिने परिणाम एउटै हो । समाजप्रतिको उत्तरदायित्व मनन् गरी आफ्ना आचार संहितालाई पछ्याउदै गरिने पत्रकारिता खाली विचार, सीप, दक्षता, क्रियाशिलतामा निर्भर गर्छ । यो समाजले आर्थिक आर्जन नहुने घरायसी काम, बालबच्चा, परिवार त्यतिमात्र होइन घर र सांस्कृतिक परम्परा महिलाको टाउकोमा थोपरिदिएको छ । जसले गर्दा महिलालाई बाहिर काम गर्न सहज छैन । झन पत्रकारिता जस्तो सामाजिक अन्तरक्रियामा भाग लिदाँ महिला पत्रकारका निम्ति सामाजिक दृष्टिकोण रातारात कसरी परिवर्तन हुन्छ र । महिला पत्रकारहरु फिल्ड वा मिडिया हाउस जहाँ बसेर काम गरेपनि यहि समाज र संस्कारमा हुर्किएका व्यक्तिहरुले गर्ने व्यवहारमा लैङ्गिक समानता भेटाउन मुश्किल नै हुन्छ। राज्यको महत्वपूर्ण निकायहरु राष्ट्रपति, प्रधानन्यायधिस, सभामुख तथा विभिन्न सरकारी निकायमा महिलाले नै नेतृत्व गरिरहेको हामीले देखिरहेका छौ । यो देख्दा आफैमा उर्जा र उत्साह बढ्छ । आइपर्ने व्यवधानहरुलाई चिर्न सके उपलब्धी प्राप्त गर्न सकिन्छ भन्ने उदाहरणहरु धेरै छन् । त्यसो त अहिले राष्ट्रिय मिडियाहरु एकपछि अर्को खुल्दै गएका छन् । ती मिडियाहरुमा दक्ष पत्रकार महिलाहरुलाई स्थान दिइनको निम्ति दबाब दिइनुपर्छ । ठूला लगानीका मिडिया हाउसहरुमा अहिले पनि निर्णायक तहमा महिला संचारकर्मीहरुलाई पु¥याइदैन । एउटै मिडिया हाउसमा उही दक्षता, उमेर, अनुभव, समय लगानी भएपनि महिला र पुरुष मध्ये पुरुष प्राथमिकतामा पर्ने गरेको देखिएको छ । समान कामको समान पारिश्रमिक त हरेक मिडियाहरुमा अनिवार्य लागू गरिनुपर्छ । उता साना लगानीमा आफैले मिडिया चलाइरहेका महिला पत्रकारहरुलाई त्यसका सम्बन्धित निकायले विशेष योजना बनाउनुपर्छ । लगानीकै अभावमा खुम्चिरहेका महिला पत्रकारका निम्ति सहुलियत ऋण, समानुपातिक विज्ञापन नीति, राज्यले दिने सूचना विज्ञापनहरु महिला पत्रकारको पहुँचसम्म पु¥याउने लगायतका योजनाहरु बनाउनुपर्छ । यसले महिला पत्रकारहरुलाई पनि विस्तारै व्यवसायिक बनाउन सहयोग पुग्छ । महिला पत्रकारहरु निडर, स्वावलम्वी, दक्ष, क्रियाशील छन् भने अवसरका ढोकाहरु खुल्दै जानेछन् । त्यसका निम्ति व्यवधानलाई चिरेर अगाडी बढ्न प्रोत्साहित गरिनुपर्छ । यसतर्फ सम्बन्धित निकायहरुको ध्यान जान जरुरी देखिएको छ ।
मकवानपुर २०७४ फागुन