–सूर्य थापा
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ, प्रदेश नं ५ ले आयोजना गरेको “प्रादेशिक सञ्चार सम्मेलन” मा सर्वप्रथम अग्रज कलमकर्मी कृष्ण सेन इच्छुकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु । उहाँको स्मृति र सम्मानमा शीतगंगा नगरपालिका–८, जलुकेमा प्रदेशस्तरीय यो सम्मेलनको आयोजना आफैमा महत्वपूर्ण रहेको छ । यसका निम्ति महासंघको प्रदेश समितिलाई विशेष धन्यवाद दिन चाहन्छु ।
मृत्युमय यातना : उच्च सहादत
२०५८ मंसिर ८ गते माओवादीले दाङको घोराहीस्थित सैनिक क्याम्पमा हमला गरेपश्चात् उहाँ भूमिगत हुनुभयो । भूमिगत अवस्थामासमेत पत्रकारितालाई निरन्तरता दिनुभएका सेनले बेलाबखत अज्ञातस्थलबाट सम्पर्क गरिरहनुहुन्थ्यो । तर २०५९ जेठको तेस्रो साता लाग्दा नलाग्दै उहाँको प्रहरी हिरासत (तत्कालीन महेन्द्र पुलिस क्लब)मा मृत्युमय यातनाले निधन भएको खबर सर्वप्रथम जनआस्था साप्ताहिकमा सार्वजनिक भयो । सेन दाइको उचाइका सहृदयी, संवेदनशील, भद्र र गम्भीर व्यक्तित्व त्यसबखत त्यस आन्दोलनमै छैनन् कि भन्ने मलाई लाग्दथ्यो । उहाँको हत्याको खबरले सिंगो संचार क्षेत्र आहत र स्तब्ध भयो ।
सेनको हत्याको त्यही परिवेशमा मैले बुधबार साप्ताहिकमा ‘कलमको घाँटीमा यातनाको पासो’ (१९ असार २०५९) र ‘हिरासतमा हत्या, थलीमा गोली !’ (१२ भदौ २०५९) शीर्षकमा टिप्पणी र समाचार लेखेको थिएँ । सेन दाइसँगको छोटो तर अविस्मरणीय संगतमा मैले उहाँमा उदात्त मानवीय भावना र संवेदनशीलता छताछुल्ल पाएको थिएँ । तर उहाँ स्वयम् नै राज्यको अमानुषिक यातनाको निशाना बन्नुभयो । योभन्दा ठूलो अफसोच अरू केही हुनसक्दैन ।
कृष्ण सेन ‘इच्छुक’को प्रहरी हिरासतमा हत्या भएको खबर सार्वजनिक भएको एक साता बितिसक्दासमेत सरकारी निकायहरू मौन देखिए । वास्तवमा उहाँको हत्याले ‘माओवादी जनयुद्ध’ मा संलग्न एक जना संघर्षशील धरोहरको अवशान भयो । एकजना स्थापित साहित्यकार र समर्पित पत्रकारलाई आस्थाको आधारमा पक्राउ गरी प्रहरी हिरासतमा कुटीकुटी हत्या गरिएको समाचारले विश्व समुदायमै नेपालको छवि धूमिल भयो । अर्घाखाँचीको जलुके, भालुबाङमा स्थायी बसोबास रहेका प्रतिष्ठित पत्रकार सेनको हत्या–प्रकरण यत्तिकै साम्य हुन दिनुहुँदैन । किनभने उहाँ बन्दुक बोकेर युद्ध लडिरहेको गुरिल्ला हुनुहुन्थेन, जसको युद्धमोर्चामा गोली लागेर मृत्यु भएको होस !
‘सरकारले आफ्नो हिरासतमा राखेका व्यक्तिलाई यसरी मार्छ भन्ने लागेको थिएन । उहाँ जुन बाटोमा लाग्नुभएको थियो, त्यसको सजाय कानुनीरूपमा दिनसक्थ्यो । लामो काराबासमा राख्न सक्थ्यो । तर हत्या नै गरिहाल्नेछ भन्ने मैले सोच्नै सकेकी थिइनँ’– साहित्यकार सेनकी पत्नी तक्मा केसीले त्यतिबेला टेलिफोनमा बताउनुभएको थियो । ‘एकजना साहित्यकार र पत्रकारको हत्या गर्नुले सरकारको कायरता अझ गम्भीररूपमा देखापरेको छ’– सेनपत्नी केसीले मसँग भन्नुभयो ।
सेनको हत्यासम्बन्धी जानकारी औपचारिकरूपमा कुनै निकायले दिए कि ? श्रीमती तक्मा केसीले बताउनुभयो– ‘अहँ ! कसैले कुनै प्रकारले सम्पर्क नै गरेन ।’
सुरक्षाकर्मीहरूले २०५९ जेठ १३ गते शिक्षण अस्पतालबाट श्रीमती तक्मा केसीलाई पनि पक्रेका थिए । तीन दिनपछि उहाँ छुट्नुभयो र पोखरामा पढाउन जानुभयो । त्यतिखेर इच्छुकको सम्बन्धमा सोध्दा केसीलाई भनिएको थियो– ‘उहाँ कष्टडीमा हुनुहुन्छ ।’ ‘उहाँको विचार परिवर्तन गराउन सकिन्छ कि !’ सुरक्षाकर्मीहरूले यस्तो प्रश्नसमेत गरेका थिए । ‘तर आफ्नो भेटघाट नै नभएका कारण त्यतापट्टि ध्यान दिने कुरै भएन’–श्रीमती केसीले त्यतिबेला मसँगको टेलिफोन संवादमा भन्नुभएको थियो । उहाँ आफ्नी नौ वर्षीया छोरी समीक्षाका साथ इच्छुकको सम्बन्धमा सरकारी जवाफको प्रतीक्षामा रहनुभयो । तर तत्कालीन सरकार प्रमुखको साहित्यकार वा पत्रकार जो भए पनि आतंककारीहरू मारिन्छन्’ भन्ने टिप्पणीबाहेक उहाँले कुनै जानकारी पाउन भएन । ‘मलाई त सरकारले उहाँलाई मार्नै चाहेको थियोजस्तो लाग्यो’ श्रीमती केसीले शोकमग्न अवस्थामा बताउनुभयो– ‘उहाँले कुरा खोल्नुभएन र यातना दिँदादिँदै मारिएको भन्ने बहाना होला । तर माथिकै आदेशमा हत्या गरिएको हुनसक्छ –तक्माको गम्भीर आशंका छ ।
इच्छुकको हत्यापश्चात् राष्ट्रिय–अन्तर्राष्ट्रियरूपमा पत्रकारहरू, मानवअधिकारवादीहरू र सम्बद्ध संघ–संस्थाहरूले उहाँकको हत्या सम्बन्धमा सत्य–तथ्य स्पष्ट पार्न माग गरिरहे ।
‘यस्तो अवस्थामा हामीले पारिवारिक स्तरबाट के पहल गर्ने र ?’ तपाईंहरूले उहाँको स्थितिका बारेमा थाहा पाउन कुनै पहल र प्रयत्न गर्दै हुनुहुन्छ कि भन्ने प्रश्न गर्दा श्रीमती केसीले भन्नुभयो– ‘कानुनीरूपमा पहल गर्ने हो भने त्यो लामो हुन्छ भन्ने इष्टमित्रहरूको सल्लाह छ । के गर्ने ? म ठूलो अन्योलमा छु ।’ अन्ततः उहाँको हत्या गरेर राज्यले आफ्नो दमनकारी रवैया धेरै लामो समय लुकाइरहन सकेन ।
पुख्र्यौली प्यूठान र कर्मभूमि … !
प्यूठान मल्लरानी गाउँपालिका– ५ सराङकोटमा पुख्र्यौली घर हो –कृष्ण सेन इच्छुकको । उहाँ भारतको देहरादुनमा जन्मिनुभएको थियो । उहाँहरू दुई भाइ हुनुहुन्थ्यो । बुबाआमाहरू हुनुहुन्न । पछि उहाँले अर्घाखाँची जलुकेमा बसाइ सार्नुभयो । उहाँको कर्मभूमि दाङ, प्यूठान र काठमाडौं भयो । उहाँका भाइ अर्जुन सेनको २०५८ सालमा सरकार–माओवादी वार्ताको बखतमै मुटु रोगका कारण असामयिक निधन भयो । श्रीमती तक्मा र छोरी समीक्षाबाहेक परिवारमा भाइका पाँच छोरी र एक छोरा बाँकी रहनुभयो ।
पुलिसको छायाँमात्रै देख्दा तर्सिएर सारा गोपनियता ओकल्ने र ज्यानको मायाले आफ्ना साथीहरू चिनाउँदै हिँड्ने कमजोर पंक्तिका सामु कृष्ण सेन एउटा अपवाद हुनुभयो, जसले केही कुरा खोल्नुको सट्टा बरू मृत्युको बाटो रोज्न पुग्यो भन्ने एकथरिको टिप्पणी सुनिन्छ । तर मृत्युको कठोर बाटो रोजेर पनि उहाँले त्यतिबेला संसारभरि हंगामा मच्चाउनुभयो । आखिर, कृष्ण सेन किन मारिनुभयो ? एक जना निष्ठाका साथ क्रियाशील वरिष्ठ पत्रकारले यसरी किन ज्यान गुमाउनुप¥यो ? कृष्ण सेन त हिजो पनि लेख्ने, आज पनि लेखिरहेको र भोलि पनि जनताको साथमा रहेर लेख्ने इमान्दार लेखक हुनुहुन्थ्यो । उहाँ निरन्तर आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । इमान र निष्ठाका कृष्ण सेनहरू मारेर राज्यले केही लाभ र उपलब्धि पाउन सकेन र पाउँदैन नै । बरू यस्ता असल नागरिकहरू गुमाउँछ, जो राष्ट्रका लागि अत्यावश्यक, योग्य र समर्पित छन् ।
संकटकालको दुरूपयोग कसरी भयो ? कृष्ण सेन ‘इच्छुक’को हत्या एउटा सटीक दृष्टान्त बनेको छ । एकजना चर्चित साहित्यकार र नाम चलेका सम्पादकको त यसरी ‘गुपचुप’ हत्या गर्ने सरकारले सर्वसाधारण जनतामाथि कति ज्यादति ग¥यो होला ? कति निर्दोष व्यक्तिहरूले कृष्ण सेनको नियति भोगेका होलान् ? गम्भीर प्रश्न उपस्थित छ ।
नेपाल पत्रकार महासंघले सरकारलाई ४८ घण्टे अल्टिमेटम दिएर कृष्ण सेनको स्थिति स्पष्ट पार्न माग ग¥यो । अल्टिमेटमको घोषित अवधि समाप्त भइसकेकोपछि पनि सरकारले केही स्पष्ट गरेन । सरकारले आम पत्रकारहरू कृष्ण सेनको हत्याबाट कति धेरै मर्माहत भएका छन् भन्ने कुरालाई समयमै बुझ्ने गम्भीरता नै देखाएन । यो अवस्था ज्यादै लज्जाजनक थियो । लोकतान्त्रिक भनिएको सरकारले सम्मानित कलमकर्मीको ज्यान लिएर आफूलाई किन यसरी पतनपथमा अग्रसर गराएको होला ? यो विश्मयकारी घटना बन्नपुगेको छ ।
संवेदनशील व्यक्तित्व
२०५८ जेठ ५ गते रुकुम जिल्ला नुवाकोट गाविसको खारैर भन्ने ठाउँबाट तत्कालीन रुकुम जिल्ला विकास समितिका उपसभापति ठगेन्द्रप्रकाश पुरीलाई सशस्त्र माओवादी समूहले अपहरण ग¥यो । करिब एक हप्तासम्म उहाँको स्थिति अज्ञात रह्यो । त्यसबीचमा उहाँलाई चार दिन जति नुवाकोटकै साक्चखोलामा राखिएछ । अपहरणको जानकारी आएपछि हामीले उहाँको अपहरणबाट मुक्तिका लागि पहल गर्ने सम्बन्धमा छलफल ग¥यौं । मेरो कृष्ण सेन इच्छुकसँगको मित्रता र सम्बन्धका कारण मैले सेन दाइसँग टेलिफोनमा सम्पर्क गरेँ । त्यतिबेला उहाँ ‘जनादेश’को सम्पादक हुनुहुन्थ्यो । मैले भेटेरै अपहरण अत्यन्त अन्यायपूर्ण रहेको स्पष्ट पारेँ । उहाँले पार्टीको सम्बन्धित तहमा सम्भवतः तत्कालै नजिकैको पेउघा टेलिफोन बुथमा खबर गर्ने प्रबन्ध मिलाउनुभयो । र, ८ दिनपछि जेठ १३ गते उपसभापति पुरी रिहा गरिनुभयो ।
रिहाइपश्चात् जेठ १५ गते पुरीजी काठमाडौं आउनुभयो । सेन दाइले उहाँलाई लिएर भेट्न आउन सक्नुहुन्छ भन्नुभएकाले म र पुरीजी बागबजारस्थित ‘जनादेश’को कार्यालयमा पुग्यौं । झन्डै ४÷५ घण्टा नै समय लगाएर उहाँले पुरीजीसँग अपहरणको इतिवृत्तान्त, माओवादीले गरेको व्यवहार र पीडितको पछिल्लो अनुभूति सम्बन्धमा छलफल गर्नुभयो । उहाँको बढी जोड माओवादीले कस्तो व्यवहार गरे भनी बुझ्नेतर्फ केन्द्रित थियो । अपहरणमा परेको एकजना पीडित पात्रसँग उहाँले जुन चासो र संवेदनशीलताका साथ छलफल गर्नुभयो, त्यतिखेर मलाई लागेको थियो– ‘सेन दाइ कुन मुटुले सशस्त्र युद्धको प्रक्रियामा संलग्न हुनुभएको होला ?’
पुरी अहिले उहाँ राष्ट्रिय सभा सदस्य हुनुहुन्छ । उहाँले प्राप्त गरेको नयाँ जीवन खासमा इच्छेककै उपहार हो भन्दा अत्युक्ति हुँदैन ।
रचनात्मक काम : हृदयको सम्मान
जनादेश साप्ताहिक अहिले बन्द छ । कृष्ण सेन इच्छुक भैतिक रुपमा हामी माझ हुनुहुन्न । जनयुद्ध वा सशस्त्र संघर्ष पनि अहिले जारी छैन । शान्ति प्रक्रिया वा परिवर्तित परिवेशमा आज इच्छुकले कति धेरै योगदान गर्न सक्नुहुन्थ्यो होला ? युद्धकालमै गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल “प्रचण्ड” बीच सम्पर्क सेतुको माध्यम बनेर नयाँ प्रक्रियाको आधार तयार गर्नुभएको थियो । त्यही सम्बन्ध बिस्तारित भएर शान्तिपूर्ण अवतरणद्घारा हिंसा÷प्रतिहिंसाको अन्तहीन शृङ्खला अन्त्य भयो । र, सामन्ती राजतन्त्रको उन्मूलन एवं संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना संभव भयो । यस परिवर्तनमा इच्छुकको सहादत र बलिदानले महान योगदान गरेको स्वतःस्पष्ट छ ।
२०१३ सालमा जन्मिनुभएका कृष्ण सेन इच्छुक जम्मा ४६ बर्ष बाँच्न पाउनुभयो । अत्यन्त सरल, मृदुभाषी, वर्गप्रति इमान्दार, भावुक र निष्ठावान उहाँले आफ्नो छोटो जीवनकालमा जनसाहित्य, पत्रकारिता र सामाजिक परिवर्तनको कष्टसाध्य प्रक्रियामा अतुलनीय त्याग, संघर्ष र योगदान गर्नुभएको छ । आफ्ना योगदानहरुकै जग र स्मृतिमा उहाँ एक जना महान कलमकर्मीका रुपमा स्मरणीय रसम्मानित हुनुहुन्छ ।
उहाँको सम्मानमा सराङ्कोट प्यूठान, जलुके अर्घाखाँची, घोराही दाङ र काठमाडौमा रचनात्मक काम गरेर स्मृतिलाई चीरस्थायी बनाउन ध्यान दिनुपर्दछ ।
यसमा मल्लरानी गाउँपालिका, शीतगंगा नगरपालिका, घोराही उपमहानगरपालिका, प्रदेश सरकार र संघीय सरकारले पत्रकार महासंघसंग ठोस सहकार्य गर्न सक्छन् । जलुके भालुवाङको इच्छुक नगर नामाकरण, इच्छुक स्मृति पार्क, इच्छुक स्मृति पुस्तकालय, स्मृति गृह र संग्रहालय निर्माण र प्रदेशस्तरमा अक्षय कोष खडा गरी पत्रकारिता पुरस्कारको स्थापना गरेर मूलतः पत्रकार महासंघको संयोजनकारी भूमिकामा रचनात्मक काम गर्नुपर्ने खाँचो छ । सहादतको डेढ दशक समय बितिसक्दा हामीले आफ्ना अग्रज र मार्गद्रष्टा इच्छुकको योगदानलाई कति स्मरण ग¥यौं र गरिरहेका छौं ?
यो प्रश्न हामीले आआफैलाई गरेर ठोस योजनाका साथ अघि बढ्न अबचाहिँ निमेष पनि ढिलो नगरौं । इच्छुक आफ्नो लागि होइन, देशका लागि समर्पित व्यक्तित्व हुनुहुन्थ्यो ।
(नेपाल पत्रकार महासंघ, प्रदेश नं.५ समितिद्वारा २०७५ माघ ११–१२ गते शीतगंगा–८, जलुकेमा आयोजित भेलामा प्रस्तुत)