पविना लामा
हेटौडा
यहि फागुनमै स्ववियू चुनाव गराउन विभिन्न राजनीति पार्टीका विद्यार्थी संगठनहरुको पहलको आवश्यकता रहेको देखिन्छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले गत पुस महिनाको २२ गते स्ववियू निर्वाचन पुर्व तयारी सम्वन्धमा सूचना प्रकाशित गरे पनि विद्यार्थी संगठनहरुको खासै उत्साह देखिएको भने छैन ।
माओवादी केन्द्र र नेकपा एमाले पार्टी बिच एकता भए पनि जनवर्गीय संगठनहरुको नीतिगत एकता हुन सकेको छैन भने नेपाली कंग्रेस निकट नेपाल विद्यार्थी संघ भित्र पनि महाधिवेशन लगायतका समस्याहरु रहेको देखिन्छ । विद्यार्थी संगठनहरुको आन्तरिक समस्याहरु धेरै रहेकाले माघ महिनाको दुई साता वित्नै लाग्दा पनि स्ववियू चुनावको चहल पहल नदेखिएको मेरो सामान्य बुझाई रहेको छ । तत्काल ठूला मानिएका नेकपा निकट विद्यार्थी संगठनहरु (अखिल क्रन्तिकारी र अनेरास्ववियू) र कांगे्रस निकट नेवि संघ रहेको छ । यी संगठनहरुले संगठनका आन्तरिक समस्याहरु प्रधान नबनाइ विद्यार्थीको हितकार चाहने हो भने अब स्ववियू चुनावको तिव्र तयारीमा लाग्ने समय भैसकेको छ ।
दूई वर्ष अघि फगुन १८ गते भएको स्ववियू चुनावले सकरात्मक छाप छोडिसकेको छ । दुई दुई वर्षमा हुनु पर्ने स्ववियू चुनाव विगतका वर्षहरुमा राजनैतिक अस्थिरताका कारणले हुन नसक्दा विद्यार्थी संगठनहरुलाई त स्वत ठूलो क्षति भयो नै विद्यार्थीले पनि क्षति भोग्नु परेको थियो । त्यसैले अबका दिनमा भने स्ववियू चुनाव समयमै हुन दिनु पर्छ । संगठनहरुको आन्तरिक समस्याकै कारणले चुनाव रोकिन हुन्न । निर्वाचनवाट निर्वाचित पदाधिकारी एवम् सदस्यहरुको २ वर्षे कार्यकाल समाप्त हुने भएकाले फेरी नयाँ पदाधिकारी एवम् सदस्यहरु ल्याउन विद्यार्थी संगठनहरुको काँधमा महत्वपुर्ण जिम्मेवारी आएको छ । यसलाई मनन गर्दै ठूला मानिने विद्यार्थी संगठनहरुले यहि फगुनमै स्ववियू चुनाव गराउन महत्वपूर्ण भूमिका खेल्दै तिव्र पहल गरेमा चुनाव हुनेमा आशावादी हुन सकिन्छ ।
लेखक ः अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य हुनुहुन्छ।