पहिलो समाचार
हेटौडा,माघ ९/ श्रमजीवि मजदुरहरुले श्रम गरेर बाल गृहमा रहेका बालबालिकाहरुलाई करिव एक महिनालाई पुग्ने खाद्यन्न सहयोग गरेको छ ।
बुधवार अखिल नेपाल विद्युतीय तथा अटो रिक्सा श्रमिक संघ जिल्ला कमिटी मकवानपुरको नेतृत्वमा उक्त सहयोग गरिएको हो । श्रमिकहरुले चामल, दाल, तेल, नुन तथा खाजाहरु रु दश हजार बराबरको हेटौडा–५ मा रहेको हाम्रो घर बालगृहका बालबालिकाहरुलाई सहयोग गरेको संघका अध्यक्ष कृष्ण प्रसाद रेग्मीले बताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरका अध्यक्ष गंगा प्रसाद भट्टाराई प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि भट्टराईले श्रमिक आफैले श्रम गरेर सहयोग गर्न पाउन आफूहरु खुशी भएको बताउनुभयो ।
कार्यक्रममा संघका उपाध्यक्ष अक्कल बहादुर थिङ, सचिव बलराम पौडेल, कोषाध्यक्ष शुक्रपति दाहाल लगायतकाको उपस्थिति रहेको थियो । बालगृहका अध्यक्ष इन्दिरा न्यौपानेले सबै सहयोगी हातहरुले गर्दा यहाँका बालबालिकाको राम्रो दिन भएको बताउनुभयो । बालगृहमा हाल ३४ जना बालबालिका रहेका छन् ।