हेटौंडाः विद्युतको नियमिततासँगै पेट्रोलियम पदार्थको आयातमा कमी आएको पाइएको छ ।

विगतको तुलनामा पेट्रोलियम पदार्थको बिक्री वितरणमा २० प्रतिशतले कमी आएको नेपाल आयल निगम शाखा कार्यालय बीरगंजले जनाएको हो । 

लोडसेडिङ हटेको र उद्योगहरुले पेट्रोलियम पदार्थ खरिद नगरेको तथा सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करीमा कमी आएको कारणले पेट्रोलियम पदार्थको बिक्री वितरणमा कमी आएको सो शाखाका प्रमुख जगदीशचन्द्र यादवले बताए । 

नेपाल र भारतमा पेट्रोलियम पदार्थको बिक्री मूल्यमा एकरुपता आएको कारणले तस्करी नियन्त्रण भएको र नियमित विद्युत आपूर्ति भएकोले पेट्रोलियम पदार्थको बिक्री वितरणमा कमी आएको बताइन्छ । पेट्रोलियम पदार्थको कम बिक्री वितरणले पम्प व्यवसायीहरु पनि आयल निगमबाट पेट्रोल र डिजेल खरिदमा कमी गरेको छ । 

भारत बिहार, रक्सौल इन्धन डिपोबाट पेट्रोलियम पदार्थ नेपाललाई लिन आग्रह गरिरहेको तर बिक्री वितरणको कमीले आयातमा पनि कमी आएको प्रमुख यादवको भनाई छ । डिजेल र पेट्रोलमा मात्र होइन, मट्टीतेलको बिक्रीमा समेत कमी आएको सो शाखाको तथ्याङ्कबाट थाहा भएको छ । 

बारा, पर्सा र रौतहट जिल्लाका गरी एकसय १४ पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने पम्प सो शाखा अन्तर्गत रहेको तर हाल दैनिक पेट्रोल ६० हजार लिटर, डिजेल २ लाख ५० हजार लिटर तथा मट्टीतेल हप्तामा १२ हजार लिटर रक्सौलबाट आयात गरी व्यवसायीहरुलाई वितरण भइरहेको छ । यसअघि एक महिना अगाडी ८६ हजार लिटरदेखि ९६ हजार लिटर पेट्रोल तथा ३ लाख ५० हजार लिटर डिजेल दैनिक आयात भइरहेको थियो ।  

सो शाखामा भण्डारण गरिने ट्याकी नरहेकोले जसरी आयात गरिन्छ, त्यसरी नै पम्प र उद्योगीलाई वितरण गरिन्छ । उनले पम्प व्यवसायीहरुलाई पटक पटक आग्रह गर्दा पनि बिक्री वितरण नभएको भन्दै कम मात्रामा डिजेल र पेट्रोल लिने गरेको बताए । 

उता बारा, सिमराका पम्प व्यवसायी राम दासले अहिले बिक्री नभएको कारण यो कारोबारमा कमी आएको जानकारी दिए । यसैगरी नेपाल आयल निगम, अमलेखगञ्ज डिपोका प्रमुख प्रदिप यादवले उद्योगी व्यवसायीहरुले डिजेल खरिदमा कमी गरेको कारण पेट्रोलियम पदार्थको बिक्री वितरणमा कमी आएको बताए ।