हेटौंडाः संचार माध्यममा दिनहुँ जसो नेपाली छोरीहरुमाथि दुःखद् र अत्यासलाग्दो घट्नाहरु घटिरहेको समाचार आइरहेका छन् ।
त्यस्तै घट्नाहरु मध्ये निर्मला पन्तको दर्दनाक घट्नाबारे चारैतिरबाट दबाब सिर्जना गर्दापनि अपराधी लुकाउन गरिएको कोशिसले अहिले सबैतिर आशंका,चिन्ता, वितृष्णा र आक्रोस बढिरहेको छ । अहिले देशव्यापी रुपमा आम मानिसहरुले यो घट्नाप्रति दुःख मनाउदै अपराधी पत्ता लगाएर हदैसम्मको कार्वाही गर्न दबाब दिइरहेका छन् । देशभर निर्मला पन्त जस्ता सयौ छोरीहरु चिच्याउदा चिच्याउदै प्राण त्याग्न बाध्य हुनुपरेको यथार्थलाई राज्य र सुरक्षाप्रशासनले सामान्य घट्नाको रुपमा लिइरहेको पाइएको छ ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना भन्दा बढी भइसक्यो । मन दुखाउने उक्त घट्नाको विवरण सार्वजनिक भइसकेको निकै भयो । तर निर्मला र उनको परिवारले न्याय पाएका छैनन् । उनको बलात्कारपछि हत्यामा संलग्न अपराधीहरु कानुनको कठघरामा अझै ल्याइएका छैनन्। यसले हाम्रो समग्र राज्य प्रणालीको खस्कदो अवस्थालाई थप नांगो पारेको छ भन्दा फरक पर्दैन ।
गृह मन्त्रालयले गठन गरेको हत्याकाण्डको अनुसन्धानको कामसम्बन्धी अध्ययन समितिले पेस गरेको प्रतिवेदन सार्वजनिक भइसक्यो । उक्त प्रतिवेदन हेर्दा जनमानसमा प्रहरीमाथिको विश्वास धरमराएको छ । प्रतिवेदनले यसअघि नै सार्वजनिक भएका कतिपय सूचनासग मिल्दोजुल्दो गरी निकालेको निष्कर्षमा निर्मलाको बलात्कार र हत्याका सम्बन्धमा अनुसन्धान गर्न जिम्मेवारी पाएको स्थानीय प्रहरीको ध्यान सबै प्रमाण नष्ट गर्न र अपराधीलाई संरक्षण गर्नतिर गएको देखिएको छ । त्यसैले त्यससग सम्बन्धित अधिकारीलाई कारबाही गर्न समेत सिफारिस गरेको छ । त्यसो त प्रहरीलाई निलम्बन समेत गरिएको छ । अपराधी पत्ता लगाउन असफल प्रहरीले गरेको यो निलम्बनको कारबाहीलाई पनि आशंकाको रुपमा नलिइरहन सकिन्न ।
जति जति घट्ना रहस्यमय बनाउदै लम्ब्याइन्छ त्यति नै प्रश्न उब्जिन थालेको छ । के साच्चै निर्मलाहरुले राज्यबाट न्याय नपाउने नै हुन् त ? सर्वत्र चर्चा र दबाब सिर्जना हुदासम्म पनि निर्मलाले न्याय पाइनन् भने आवाज उठाइदिने मान्छे नै नभएका अरु निर्मलाहरुलाई झन न्याय कसरी मिल्ला र । सचेत नागरिक समाज, सचेत राजनीतिक कार्यकर्ता सबैले अब निर्मला पन्त र उनी जस्तै घट्नमा परेर न्याय खोजिरहेकाहरुलाई न्याय दिलाउनुपर्छ र जतिसुकै शक्तिशाली भनिएपनि अपराधीलाई सजाय दिलाउनुनै पर्छ । यदि सरकार यसतर्फ सजग नहुने हो भने आममानिसमा असुरक्षाको भाव बढ्दै जानेछ भने अर्कातिर वर्तमान सरकारप्रति अविश्वास र आक्रोश नबढ्ला भन्न सकिन्न ।
नेपाल प्रहरीले आफ्नो संगठन बचाउने र सरकारलाई भड्खालोमा हाल्ने काम गरिरहेको भान भएको छ । यसतर्फ नेपाल सरकार र गृहमन्त्रालयले आफ्नो इमान्दारिता देखाएर हस्तक्षेप गर्न आवश्यक छ । नत्र देशका सबै छोरीहरुले आफू सुरक्षित भएको महशुस गर्न सक्दैनन । अहिले सरकारले आफू आम नागरिकको अभिभावक हो भन्ने महशुस गराउने मात्र होइन कि निर्मला र निर्मला जस्ता धेरै छोरीहरुलाई न्याय दिई अपराधीलाई कडा भन्दा कडा सजाय दिलाउन ढिला भइसकेको छ ।
२३ असोज २०७५