हेटौंडाः आईतबार हेटौंडामा एकै मञ्चबाट २७ जना पत्रकार एकसाथ पुरस्कृत र सम्मानित भएका छन् । पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘ईच्छुक’को २२औं स्मृति दिवसको अवसरमा यहाँ आयोजित अन्तरक्रिया, पुरस्कार तथा सम्मान समर्पण समारोह कार्यक्रमबीच पत्रकारहरुलाई सो पुरस्कार र सम्मान समर्पण गरिएको हो ।

कार्यक्रमको उदघाटन गर्नुहुँदै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पत्रकारहरुमा आलोचनात्मक चेत हुनुपर्ने बताउनुभयो । पत्रकारहरुले सरकारको खबरदारी गर्नुपर्ने र सरकारका कामहरुमा सचेत गराउनुपर्नेमा उहाँको जोड दिनुभयो । संचार क्षेत्र सम्बन्धि नीति, कानून, नियमावली र नियम प्रदेश सरकारले बनाएको भन्दै मुख्यमन्त्रीले कार्यान्वयनमा देखिएका समस्या समाधान गर्दै कार्यान्वयन गरिने बताउनुभयो । हेटौंडाका पत्रकारहरुले प्रदेश सरकारलाई सकारात्मक सहयोग गरिरहेको भन्दै उहाँले यहाँका पत्रकारहरुलाई धन्यवाद ज्ञापनसहित प्रदेश सरकारको निरन्तर खबरदारीको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा रुद्रसेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रताप बिष्ट र नवराज शर्मा तिमल्सिनालाई समर्पण गरिएको थियो । साथै, प्रेस सेन्टर मकवानपुरले संस्थापक अध्यक्षको स्मृतिमा स्थापना गरेको कौशल पाण्डे जनपक्षीय राष्ट्रिय पत्रकारिता पुरस्कार प्रेस सेन्टरका संस्थापक नेता महेश्वर दाहाललाई प्रदान गरिएको थियो । समारोहमा अग्रज पत्रकारहरु महेन्द्र श्रेष्ठ, सम्झना कार्की, राममणि दाहाल, रामकुमार एलन, भानुभक्त आचार्य, कृष्णराम परियार, सुवर्णलाल श्रेष्ठ, कलमचन्द्र सुमन, दिपक अधिकारी, मोहनमान साँगामी र रोशन पराजुलीलाई माला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

साथै, क्रियाशील पत्रकारिता पुरस्कारबाट राजन दाहाल, एमपी शर्मा, सरला अधिकारी, सुबास बिडारी र प्रतिक्षा न्यौपानेलाई पुरस्कृत गरिएको थियो भने बालकृष्ण दाहाललाई युवा सञ्चार उद्यमी पुरस्कारबाट पुरस्कृत गरियो । त्यस्तै, ग्रामीण पत्रकारिता पुरस्कार शिवकुमार काशी, उमेश राई, शम्भु अधिकारी र विवेक सिन्तानलाई प्रदान गरिएको थियो । सुत्केरी प्रोत्साहन बापत पत्रकारहरु रञ्जिता डंगोल, रुपा गुरुङ र मनिता दानीलाई सुत्केरी भत्ता प्रदान गरिएको थियो ।
प्रेस सेन्टर नेपाल मकवानपुरले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापाको सभाध्यक्षता एवम् बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकस मन्त्री युवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान र प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष एवं केन्द्रीय ईन्चार्ज महेश्वर दाहालको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज बिजय गौतम, बागमती प्रदेश सचिवालय सदस्य एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र बागमती प्रदेशका सञ्चार रजिस्टार रेवती सापकोटाले मन्तव्य ब्यक्त गर्नु भयो । साथै, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवं बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सुनिल खड्का, बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महसंघ मकवानपुरका उपाध्यक्ष ध्रुब अधिकारी, समाजवादी प्रेस संगठनका महासचिव रामकुमार एलन, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबाश बिडारी लगायतले समारोहमा शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जिल्लामा रहेका विभिन्न सञ्चार गृहमा आबद्ध पत्रकार तथा सञ्चारकर्मी एवम् सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।