हेटौंडाः झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले हरेक वर्ष सञ्चालन गर्दै आएको बकैया कला साहित्य महोत्सव यस वर्ष फागुन ११ र १२ गते बकैया-९, स्थित कालीदेवी मावि परिसरमा सञ्चालन हुने भएको छ । झसापले सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव कार्यक्रम र उक्त समारोहमा समर्पण गरिने पुरस्कारहरुबारे जानकारी गराएको हो ।

झसापले हरेक वर्षझैं यसवर्ष पनि विभिन्न विधामा गरि ९ जना स्रष्टा तथा व्यक्तित्वहरुलाई सम्मान अर्पण गर्ने सचिव मसान उपासकले बताउनुभयो । जस अन्तर्गत साहित्यमा योगदान गरेबापत प्रदान गरिने नगद २१ हजार १ सय २१ राशि सहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान काठमाडौँका डा. गीता त्रिपाठीलाई अर्पण गरिनेछ । त्यस्तै, मुक्तकमा योगदान गरेवापत प्रदान गरिने नगद १५ हजार ५ सय ५५ राशि सहितको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान मोरङका बाबुराम पोखरेललाई अर्पण गरिनेछ भने बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान मकवानपुरका साहित्यकार साम्ब ढकाललाई अर्पण गरिनेछ । नगद १५ हजार ५ सय ५५ राशिसहितको यस सम्मान जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत अर्पण गर्ने गरिएको छ ।

साहित्यिमा योगदान गरेका युवा साहित्यकारलाई प्रदान गर्ने नगद ७ हजार ७ सय ७७ राशिसहितको खडानन्द–मनमाया प्रतिभा सम्मान स्याङ्जाका मिलन समीरलाई अर्पण गरिनेछ । त्यस्तै, सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान गजलकार बिमला कार्की “सुसं”लाई अर्पण गरिनेछ । नगद ७ हजार ७ सय ७७ राशिसहितको यस सम्मान मकवानपुरका महिला साहित्यकारलाई प्रदान गर्ने गरिएको छ । मकवानपुरको साहित्यसेवी रहेवापत प्रदान गर्ने नगद ७ हजार ७ सय ७७ सहितको सञ्जीवनि बुटि साहित्य सेवा सम्मान भरतप्रसाद सापकोटालाई अर्पण गरिने भएको छ ।

मकवानपुरमा रही झसापको प्रचारप्रसार गर्न पत्रकारिताका माध्यमबाट सहयोग गरेवापत प्रदान गरिने नगद ११ हजार १ सय ११ राशिसहितको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान रामकुमार एलनलाई अर्पण गरिनेछ भने बकैयाका नवप्रतिभाको सम्मान गर्ने हेतुले स्थापित ५ हजार ५ सय ५५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार गजलकार अजर फुयाँललाई अर्पण गरिनेछ । बकैयामा रहेका कलाका क्षेत्रमा योगदान गरेवापत प्रदान गर्न स्थापित नगद ७ हजार ७ सय ७७ राशिसहित खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान बाँसुरी बादक विष्णु घतानीलाई अर्पण गरिनेछ ।

झरनाले साहित्यिक अभियान लिएर गाउँ-गाउँका विद्यालयहरुमा पुगेको र मकवानपुरे साहित्यिक संस्थाहरुको भीडमा अलग्गै पहिचान बनाएको भन्दै यसवर्षको महोत्सवमा पनि सबै निकायहरुबाट विगत वर्षहरुमा झैं सहयोगको अपेक्षा राखिएको अध्यक्ष विश्वनाथ सञ्जेलले बताउनुभयो । बाल साहित्य र समग्र सृजना तथा बहस गरि दुई दिनसम्म सञ्चालन हुने महोत्सव कार्यक्रमको मुख्य सहयोगी बकैया गाउँपालिका रहनेछ ।