हेटौंडाः शिक्षण सिकाई क्रियाकलापमा नवीनतम प्रयोगको अभ्यास स्वरुप हेटौंडामा सञ्चालित खेल्दै–सिक्दै कार्यक्रम प्रभावकारी बनेको दाबी गरिएको छ । हेटौंडाका १० वटा विद्यालयहरुमा गत असारदेखि सञ्चालित उक्त परियोजनाका क्रियाकलापबारे सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि कारखाना समूहले यस्तो जानकारी गराएको हो ।
विद्यार्थीलाई विभिन्न सामाग्रीहरुको उपयोग गरि रमाईलो तरिकाले सिकाउने उद्देश्यले सुरु गरिएको यस कार्यक्रम आधारभूत रुपमा सफल रहेको कारखाना समूहका कार्यकारी निर्देशक सचेत मानन्धरले जानकारी दिनुभयो । परियोजनाको अवधि सकिएकोले आगामी फागुन ५ गते कार्यक्रमको औपचारिक समापन गरिने भएपनि विद्यालयमा यसको निरन्तरताको लागि पाठ्यक्रममा यस्ता विषय समेट्न र नगर शिक्षा नीति तथा योजनामा यस्तो अभ्यास लागु गराउन समूहले उपमहानगरपालिकासँग समन्वय गरेको पनि कार्यकारी निर्देशक मानन्धरले बताउनुभयो ।
परियोजना अन्तर्गत शिक्षकहरुको समूह निर्माण, अभिमुखीकरण कार्यशाला, सामाग्री निर्माण लगायत गतिविधि गरिएको थियो । यस्तो विधि अवलम्बन गर्दा सिकाई प्रभावकारी हुने निश्चित भए तापनि कार्यान्वयन तहमा लैजान स्थानीय सरकार र सम्बद्ध निकायले ध्यान दिनुपर्ने कारखाना समूहको निश्कर्ष छ।
सिकाई प्रक्रियालाई तनावको रुपमा नलिई सिक्ने–सिकाउने क्रममा शिक्षक र विद्यार्थीलाई प्रयोगात्मक अभ्यासमा जोड दिँदै रमाईलो वातावरणमा सिक्ने तथा सिकाउने उद्देश्यले कार्यक्रम सञ्चालन भएको थियो। हेटौंडा उपमहानगरपालिका–१६, हटियामा रहेको जनप्रिय माविको समन्वयमा जनप्रिय माविसहित १० वटा विद्यालयमा खेल्दै–सिक्दै कार्यक्रम लागु गरिएकोमा २० जना शिक्षक र ५ सय ५० जना विद्यार्थी प्रत्यक्ष रुपमा सहभागी भए । कक्षा ६, ७ र ८ का विद्यार्थीहरु सहभागी कार्यक्रममा विद्यार्थीहरुले उत्साहजनक सहभागिता देखाएको जनप्रिय माविका अतिरिक्त क्रियाकलाप संयोजक एवम् खेल्दै–सिक्दै कार्यक्रमको अगुवाई गरिरहनुभएका युक्तलाल बिश्वकर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार खेल्दै सिक्दै कार्यक्रमले विद्यार्थीको रुचि र क्षमता अनुसारको शिक्षण प्रविधिको विकास गर्न सहयोग गरेको छ। शिक्षक केन्द्रित पारम्परिक शिक्षण विधिभन्दा खेल्दै सिक्दै कार्यक्रमले विद्यार्थी केन्द्रित पठनपाठन र सिकाईलाई रुचिकर बनाएको दाबी गरिएको छ । यद्यपि यसको नतीजा देखिन भने समय लाग्ने आयोजकले जनाएको छ । समूहले आगामी फागुन ३ र ४ गते जनप्रिय माविमा यस्तो शिक्षणका लागि शिक्षकहरुलाई आवश्यक पर्ने सामाग्रीबारे प्यानल छलफल र यस प्रक्रियामा भाग लिएका शिक्षक तथा विद्यार्थीको अनुभव सुन्ने कार्यशाला सञ्चालन गर्नेछ भने फागुन ५ गते हेटौंडा रिसोर्टमा औपचारिक समारोहबीच कार्यक्रम समापन गरिनेछ ।