हेटौंडाः प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले हेटौंडास्थित मानव सेवा आश्रमको केन्द्रीय कार्यालय भवन उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आश्रमको हेटौंडा-९ लामसुरेधापस्थित निर्माण भएको केन्द्रीय कार्यालयको भवन शनिबार बिहान उद्घाटन गर्नुभएको हो ।
सहयोगापेक्षीमैत्री सेवा प्रवाहको लागि संस्थाको आफ्नै भवन आवश्यक रहेको महसुस गर्दै आश्रमले २०७१ माघ ३ गते भवन निर्माण कार्य सुरुवात गरेको थियो । विभिन्न दाताहरुको दान तथा सहयोगबाट १२ करोड रुपैयाँ लागतमा आश्रमको भवन निर्माण भएको बताइएको छ । केही महिनाअघि मानवसेवा आश्रमले मेची महाकाली अभियान सञ्चालन गरी ३ सय २ जना सडक मानवको उद्दार समेत गरेको थियो ।
सडकमा जीवन बिताइरहेका मानिसहरुलाई आश्रय दिने उद्देश्यसहित २०६९ भदौ १३ गते मानवसेवा आश्रम हेटौंडाको स्थापना भएको थियो । हाल यस आश्रममा २५ जना बालबालिका, ९५ जना महिला र एक सय जना पुरुष गरी कूल २२० जना आश्रित रहेका छन् । हेटौंडाबाट सेवा सुरु गरेको मानवसेवा आश्रमले हालसम्म देशभर अन्य २४ वटा शाखा कार्यालयहरु पनि सञ्चालनमा ल्याएको छ, भने ति शाखाहरुमा एक हजार ७ सय जना आश्रित रहेका छन् ।