हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले मकवानपुर जिल्लाका सबै स्थानीय तहमा वार्षिक योजना तय गर्दा जलवायु परिवर्तन सम्बन्धी विषयलाई प्राथमिकता दिन पहल गरिने बताउनुभएको छ । शुक्रबार हेटौंडामा सञ्चालन भएको जलवायु परिवर्तन सम्बन्धी नीतिगत सवाल, मुद्दा, चुनौती र आगमी सम्भावनाहरुबारे अन्तरसंवाद कार्यक्रममा मन्तव्य दिँदै उहाँले यस विषयलाई स्थानीयकरण गर्न आफ्नो तर्फबाट समन्वय गरिने प्रतिबद्धता जनाउनुभएको हो ।

‘जिल्ला समन्वयले आयोजना गर्ने छलफलमा यो विषय राखिनेछ, सबै पालिकालाई योजना तथा बजेट निर्माण गर्दा जलवायु परिवर्तनका विषयलाई ध्यान दिन आवश्यक समन्वय गरिनेछ’, उहाँले भन्नुभयो । जलवायु परिवर्तनका विषयमा राज्यले संरक्षण र उपयोगको नीति लिएको भन्दै उहाँले गैर सरकारी संस्थाहरुबाट पनि यस्ता नीति बनाउन सहयोग मिलेको बताउनुभयो । स्थानीय सरकारले आफ्नो अनुकूल कानून बनाउन सक्ने भएकोले स्थानीय स्तरमा आवश्यक नियम बनाई स्थानीय समस्यालाई हल गर्न सकिने प्रमुख घलानको भनाई छ । व्यवसायीहरु फाइदामुखी व्यवसायमा र उपभोक्ताहरु कस्मेटिक सामग्रीमा आकर्षित भएको भन्दै उहाँले हाम्रा क्रियाकलापले नै प्रकृतिलाई हानी गरेको विचार व्यक्त गर्नुभयो । साथै, उहाँले नागरिक समाज जागरुक भई आयोजना गरिएको यस्ता छलफलले पृथ्वी जोगाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा जलवायु परिवर्तन सम्बन्धी विषयका अभ्यासकर्ता निर्मल चोङबाङले सो सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत कार्यपत्र अनुसार जलवायु परिवर्तनले विशेष गरि कृषि तथा पशुपालन, बनजन्य स्रोतहरु र जलस्रोतमा असर गरेको छ । मकवानपुरका विभिन्न स्थानमा भएका विभिन्न अध्ययनहरुको निश्कर्ष प्रस्तुत गर्दै उहाँले जलवायु परिवर्तनका कारण स्थानीय किसानहरुको कृषि, पशुमा रोग किरा बृद्धि, उत्पादनमा ह्रास र जीविकोपार्जनमा समस्या हुँदा रोजगारीको लागि अन्य वैकल्पिक माध्यमको खोजी गर्नुपरेको छ । यसबाट मानव बेचविखनका जोखिम हुनेतर्फ पनि सहभागीहरुले जोड दिएका छन् ।

कार्यक्रममा साना हातहरु नेपालका प्रतिनिधि डिगम्बर उपाध्याय, राडो नेपालका दिपक पाठक, सेलर्डका जगन्नाथ खतिवडा, हिमराइट्स प्रतिनिधि एवम् गैसस महासंघ मकवानपुरका उपाध्यक्ष कुमारी वाईबा, माइती नेपाल मकवानपुरका कार्यक्रम संयोजक माया लामा, मनहरी गाउँपालिका सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकाल, सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त बानियाँ, मनहरी-३ का सहभागी सुशिला उपाध्याय, मनहरी-६ का सहभागी सलिसा राई, युफिड प्रतिनिधि शान्ति कार्की, कृषि तथा बन विश्वविद्यालयकी विद्यार्थी आकृति सूर्यवंशी लगायत सहभागीहरुले आफ्ना जिज्ञासा एवम् भनाई राखेका थिए । कार्यक्रममा सहभागीहरुले विकशित देशहरुका कारण विशेष गरी जलवायु परिवर्तनमा असर पुगेको बताएका थिए ।

तुलनात्मक रुपमा नेपालीहरु जलवायुको संरक्षणमा सचेत देखिएको भए पनि नेपालको एक्लो प्रयासले उपलब्धि हासिल गर्न नसकिने उनीहरुले बुझाइ थियो । त्यसैले विश्वस्तरको सम्मेलनमा हाम्रा मुद्दालाई कडा रुपमा प्रस्तुत गरिनुपर्नेमा सहभागीहरुले जोड दिए । साथै, हाम्रा व्यवहार तथा क्रियाकलामा सुधार ल्याउन र सकेसम्म कम (शून्य) हरितगृह ग्यास उत्सर्जनमा ध्यान हुनुपर्नेमा सहभागीहरुको एकमत थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका वन तथा वातावरण शाखा संयोजक एवम् १० नं. वडाध्यक्ष फूर्वा दोर्जे लामा, गैर सरकारी संस्था (गैसस) महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठक, मनहरी-३ का अध्यक्ष एवम् सामाजिक विकास शाखा संयोजक अनन्त प्रकाश अर्याल लगायत अतिथिहरुले मन्तव्य व्यक्त गरे । वक्ताहरुले केही नीतिगत व्यवस्थाका कारण काम गर्न गाह्रो भएको, यस विषयमा सबै पक्ष संवेदनशील हुनुपर्ने जस्ता विषयमा जोड दिए । साथै, मनहरी-३ ले जलवायु परिवर्तनका कारण उत्पादन नभएको हकमा किसानलाई लागत (बिउ, ज्याला) बराबर क्षतिपूर्तिको व्यवस्था र हाइवेमा विद्युतीय सवारी चार्ज स्टेशन बनाउने गरि चालु बजेटमा व्यवस्था गरिएको जानकारी दिनुभयो ।

मकवानपुर महिला समूहको आयोजनामा भएको कार्यक्रममा समूहका उपाध्यक्ष सुमित्रा घलानको सभाध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मकवानपुर महिला समूहका सामाजिक परिचालक जुना दंगालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । प्लाष्टिकजन्य सामग्रीको प्रयोग, प्लाष्टिक बाल्ने र डढेलो जस्ता व्यवहारिक विषयमा गहन छलफल गरिएको कार्यक्रममा सम्पूर्ण विषयलाई स्थानीयकरण गर्न र विकासका हरेक कार्यक्रममा यसलाई मूलप्रवाहीकरण गरेर लैजानुपर्ने निश्कर्ष निकालिएको छ । विषयको महत्वलाई ध्यान दिँदै मकवानपुर महिला समूहले समुदायका महिला तथा युवालाई यस सम्बन्धी हालै तालिम समेत प्रदान गरिएको समूहका कार्यक्रम संयोजक निशा लामाले जानकारी दिनुभयो ।