हेटौंडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिले हेटौंडामा गर्ने भनिएको व्यापारिक महोत्सव नगर्न समितिलाई मकवानपुर उद्योग वाणिज्य संघले ध्यानाकर्षण गरेको छ । आफ्नो काम, कर्तव्य तथा अधिकारभन्दा बाहिर गएर जवर्जस्ती महोत्सव आयोजना गर्दा हेटौंडाको व्यवसायीहरुलाई नोक्सानी पर्ने भन्दै संघले पत्रकार सम्मेलन मार्फत समितिलाई यस्तो आग्रह गरेको हो ।
आर्थिक मन्दीको प्रभावले उद्योग व्यवसाय तथा आम सर्वसाधारणलाई प्रभाव पारेको अवस्थामा मेला आयोजना गर्दा हेटौंडाका व्यवसायीहरुलाई प्रत्यक्ष असर पर्ने संघको ठहर छ । रेडिमेड कपडा, भाँडा, जुत्ताचप्पल लगायतका व्यवसायलाई उक्त मेला भइरहँदा र सम्पन्न भइसकेकपछि लामो समय कारोवारमा शिथिलता निम्त्याउने भन्दै त्यसबाट विधिवत फर्म दर्ता गरेका, निरन्तर कर तिरिरहेका, चर्को भाडा, महंगो गृहस्थीमा जकडिएका देखि अनेक समस्यामा जेलिएका व्यवसायीहरुलाई आघात पर्ने विषय संघले उठाएको छ । खेलकुद गतिविधि मात्र गर्ने गरी उक्त महोत्सव आयोजना हुनपर्ने भन्दै बुधबार संघले यस्तो धारणा सार्वजनिक गरेको हो ।
प्रेस विज्ञप्ती जारी गर्दै संघले उद्योग तथा व्यापार क्षेत्रसँग सरोकार नराख्ने संघ, संस्थाहरुले मेला, महोत्सव आयोजना गर्दा बेथितिपूर्ण भएको निश्कर्षसहित २०७६ मंसिर १० गते गृह मन्त्रालयबाट जारि गरिएको परिपत्रको स्मरण पनि गराएको छ । असम्बन्धित संघ, संस्थाहरुले व्यापारिक मेला आयोजना नगराउन यथोचित व्यवस्थाको लागि सम्बन्धित सम्पूर्ण निकायहरुमा संघले अनुरोध गरेको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले विज्ञप्ति मार्फत व्यापारिक प्रकृतिको मेला गर्न स्वीकृति प्रदान नगरीदिन हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन लगायतका कार्यालयमा ज्ञापन पत्रसमेत पेश गरिएको जानकारी गराएका छन् । साथै, महोत्सव स्थगित गरिदिन संघको तर्फबाट जिल्ला खेलकुद विकास समिति हेटौंडालाई पत्राचार समेत गरिएको जनाइएको छ ।