हेटौंडाः लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन आइतबार हेटौंडामा आयोजित एक कार्यक्रममा अग्रज महिला अधिकारकर्मीहरुले आफ्ना संघर्षका कथा नयाँ पुस्तासमक्ष प्रस्तुत गरेका छन् । यस अभियानमा लाग्न चाहने नयाँ पुस्ताका लागि अभियानको इतिहास बुझ्ने र सिक्ने अवसर सृजना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा अग्रज अधिकारकर्मीले आफ्ना संघर्षका कथा सुनाएका हुन् ।

आफ्ना अनुभव सुनाउँदै जिल्ला समन्वय समिति मकवानपुरका पूर्व उपप्रमुख एवम् ग्रामीण महिला सेवा केन्द्रको संस्थापक मध्येकी एक भगवती पुडासैनीले अधिकारकर्मीका रुपमा ४० वर्षे संघर्षका क्रममा धेरै उतारचढाव भोगेको बताउनुभयो । त्यसैगरी सामाजिक विकास मन्त्रालयमा कार्यरत महिला विकास अधिकृत चन्दा व्यन्जनकारले आफ्नो उमेरमा काठमाडौंका छोरीहरुलाई घरबाट बाहिर जान वा जागीर खान सजिलो नभएकोले घरबाट जागीरका लागि निस्किन पनि संघर्ष गर्नुपरेको बताउनुभयो ।

सामाजिक अभियन्ता लक्ष्मी पाख्रिनले विगतमा नारी दिवस मनाउँदा पनि धरपकड र यातना हुने गरेको अनुभव सुनाउनु भयो । अधिकारका लागि आवाज उठाउँदा आफूले आर्मीको यातना सहनुपरेको उहाँको अनुभव थियो । हिंसाको तह विगतमा भन्दा कम देखिए पनि अझै घर परिवार, समाज र राजनीति वृत्तमा समेत जताततै लैंगिक हिंसा कायमै रहेको हेटौंडा उपमहानगरपालिकाका महिला बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले बताउनुभयो । कार्यालयमा हाकिम भएर जाँदा सवाग्राहीले गरेको व्यवहार लगायत आफ्नो जागीरे जीवनको दृष्टान्त प्रस्तुत गर्दै उहाँले मानिसमा सोच परिवर्तन नभएसम्म समाजमा परिवर्तन आउन कठिन हुने बताउनुभयो । पुस्तान्तर हुँदै जाँदा विभेदको क्रम घट्दै गएकोले बिस्तारै लैंगिक विभेद हटाउन सकिनेमा आशावादी हुनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा उद्घाटन मन्तव्य दिँदै बागमती प्रदेश सभा सदस्य भारती पाठकले महिलाका सवाललाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो । आफूले काम गरेका संस्थाहरुमा कार्यकारी तहमा महिला हुने गरि नीतिगत व्यवस्था गरेको भन्दै उहाँले कार्यकारी तहमा महिला हुनु र नहुनुले कार्यान्वयनमा धेरै फरक पर्ने बताउनुभयो । महिलाहरु आर्थिक रुपमा सशक्त हुन, निर्णायक भूमिकामा पुग्न र महिलाका सवालमा सबै महिलाहरु एकढिक्का भएर अघि बढ्नुपर्ने उहाँको भनाई छ । महिलाका सवालमा सरकारी संयन्त्रहरु उदाशिन देखिनु दु:खद् रहेको भन्दै उहाँले देशभरका सरकारी कार्यालयहरुमा हिंसा बिरुद्धको दिवस भव्य रुपमा मनाइनु पर्ने बताउनु भयो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै दलित महिला संघ मकवानपुरका अध्यक्ष पवित्रा विश्वकर्माले दलित महिलाका पीडा र उनीहरुका सवाललाई पनि कसैले छुटाउन नहुने बताउनुभयो । त्यसैगरी मकवानपुर महिला समूहका अध्यक्ष कमला सुवेदीले एचआइभी संक्रमित महिलाका सवाल सबैको चासोको विषय बन्नुपर्ने बताउनुभयो । बिगतमा आफूले हिंसा र दुव्र्यवहार भोग्नुपरेको अनुभव सुनाउँदै उहाँले अहिले पनि प्रभावित र संक्रमितलाई समाजले गर्ने व्यवहारका कारण उनीहरु खुलेर आउन नसकेको बताउनुभयो । आफू भने विगतदेखि नै यस अभियानमा रहेको र आगामी दिनमा पनि निरन्तर रुपमा लाग्ने उहाँको भनाई थियो ।

छलफलले अग्रजको भोगाईबाट नयाँलाई सिकाई लिने अवसर मिलेको भन्दै माइती नेपालका कार्यक्रम संयोजक माया लामाले कार्यक्रम उपलब्धीमूलक बनेको बताउनु भयो । एक्सन एडको सहयोग तथा मकवानपुर महिला समूहको आयोजनामा भएको कार्यक्रमलाई मानव अधिकार संरक्षण तथा मानव बेचविखन बिरुद्धको सञ्जालले समन्वय र दलित महिला संघ मकवानपुरले सहकार्य गरेको थियो । कार्यक्रममा मकवानपुर महिला समूहका अध्यक्ष कमला सुवेदीको अध्यक्षता एवम् बागमती प्रदेश सभा सदस्य भारती पाठकको प्रमुख आतिथ्य रहेको थियो ।

गैर सरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठकले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै अग्रजको अनुभवबाट सिक्ने अवसरका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा अधिवक्ता मन प्रसाद भट्टराईले कार्यपत्र पेश गर्नुभयो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष रमिला सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य सुनिता परियार, मनहरी गाउँ कार्यपालिका सदस्य सविता सुवेदी, इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारी लगायतको आतिथ्य रहेको थियो भने विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए । दिवसका कार्यक्रम मात्र नभई लैंगिक विभेद अन्त्यका लागि संस्थाले महिला तथा पुरुष समूह परिचालन गरि समुदायमा निरन्तर काम गर्दै आएको मकवानपुर महिला समूहका कार्यक्रम संयोजक निशा लामाले जानकारी दिनुभयो ।