हेटौंडाः बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठले सामाजिक संघ, संस्थाले सञ्चालन गर्ने चेतनामूलक कार्यक्रमहरु उपलब्धी हासिल गर्ने क्षेत्रमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । शुक्रबार हेटौंडामा भएको प्रेषण प्रणाली सुदृढिकरण सम्बन्धी कार्यशालाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।
विभिन्न संस्थाले सामाजिक अभियान अन्तर्गत चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको भएपनि समाजमा अनेक प्रकारका हिंसा कायमै रहेको सन्दर्भमा उहाँले यस्ता कार्यक्रमहरुको र कार्यशैलीहरुको पुनः मूल्यांकन गरिनुपर्ने सुझाव व्यक्त गर्नुभएको हो । साथै, चेतनामूलक कार्यक्रमहरुलाई गाउँ-गाउँमा लैजानुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
पीडकको पक्षमा राजनीतिक दवाव आएको भन्ने सहभागीको जिज्ञासालाई सम्बोधन गर्दै उहाँले राजनीतिक नेतृत्वले पीडकलाई सहयोग हुने गरि काम गर्न नहुने विषयमा आफू स्पष्ट रहेको र यस किसिमले कुनै निकायमा कहिल्यै अनावश्यक हस्तक्षेप नगरेको बताउनुभयो । साथै, आगामी दिनमा पनि त्यस्तो कार्य नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हिंसा न्यूनीकरणका सवालमा कानूनी व्यवधान भएमा प्रदेशले निर्माण गर्न सक्ने कानून वा त्यसमा आवश्यक सुधारका लागि आफू तत्पर रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा मन्तव्य दिँदै मनहरी गाउँपालिका वडा नं. ४ का अध्यक्ष प्रकाश थापाले आर्थिक रुपमा परनिर्भर रहेका महिलाहरु बढी हिंसामा पर्ने गरेको बताउनुभयो । हिंसा न्यूनीकरणका लागि महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन जरुरी रहेको भन्दै उहाँले आफ्नो क्षेत्रमा महिलाहरुलाई व्यवसायिक पशुपालन लगायत जीविकोपार्जनमा जोड दिएको बताउनुभयो । त्यस्तै, मनहरी गाउँपालिका वडा नं. ३ का अध्यक्ष अनन्त प्रकाश अर्यालले लैंगिक हिंसाका कुरा गर्दा पुरुषका पीडालाई पनि छुटाउन नहुने बताउनुभयो । न्याय निरुपणका क्रममा घटनाको राम्रोसँग अध्ययन गर्न र वास्तविक पीडित पत्ता लगाउन पनि उत्तिकै जरुरी रहेकोमा कार्यक्रमका सहभागीहरुले जोड थियो । निर्दोष व्यक्तिलाई फसाउन नहुने र वास्तविक पीडितले न्याय पाउने गरि प्रेषण प्रणाली मार्फत पीडितलाई आवश्यक सुविधा दिने विषयमा कार्यशाला केन्द्रित थियो ।
कार्यशालामा हेटौंडा उपमहानगरपालिकाका निर्देशक विष्णु कुमारी लामिछानेले प्रेषण प्रणाली सम्बन्धी कार्यपत्र पेश गर्नुभयो । सो सम्बन्धमा जिल्लास्थित विभिन्न सरकारी तथा गैर सरकारी संस्थाबाट सहभागी प्रतिनिधिहरुले आफ्नो जिज्ञासा राखेका थिए ।
कार्यक्रममा गैर सरकारी संस्था (गैसस) महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठक, गैसस महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटा, हिमराइट्स मकवानपुरका कुमारी वाईबा, जिल्ला प्रहरी कार्यालय मकवानपुर अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका परिता गिरी, सेफ हाउसका विमला बर्तौला, माइती नेपाल मकवानपुरका कार्यक्रम संयोजक माया लामा, सेलर्ड मकवानपुरका जगन्नाथ सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै मकवानपुर महिला समूहका कार्यक्रम संयोजक निशा लामाले प्रेषण प्रणाली सुदृढ भएमा पीडितले सहज रुपमा न्याय पाउने र सबै निकायहरुको भूमिका प्रभावकारी देखिने बताउनुभयो । यस्ता संयन्त्रहरु हेटौंडा उपमहानगरपालिका, मनहरी र भीमफेदी गाउँपालिकामा समेत बनेको भएपनि हेटौंडा बाहेक अन्यत्र भने लागु हुन नसकेको पनि उहाँले बताउनुभयो ।
मकवानपुर महिला समूहका अध्यक्ष कमला सुवेदीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रदेश सभा सदस्य एकलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुर महिला समूहका सामाजिक परिचालक जुना दंगालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका सन्दर्भमा मकवानपुर महिला समूहले आयोजना गरेको कार्यशालालाई एक्सन एडले सहयोग गरेको छ । लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति सुदृढिकरण सम्बन्धी छलफल गर्दै २ दिने कार्यशाला शनिबार समापन हुनेछ ।