सालकको वासस्थान तस्वीर : हरि अधिकारी/मकवानपुर

पहिलो समाचार, ६ फागुन | विज्ञान आफैमा अधुरो छ यो भन्दैमा प्राप्त उपलब्धी र तथ्य भन्दा बाहिर गएर तर्क गर्नु चुनौतीपूर्ण हुन्छ । प्रकृतिको अनुपम विविधताको एक हिस्सा सालक आफैमा एउटा खोजपूर्ण विषय समेत हो । मानव स्वभावतः नाफाघाटामा सम्बन्ध राख्दछ, समय खर्चन्छ, प्राप्तिको विषयवस्तु बनाउदैछ । तर संरक्षण एउटा यस्तो क्षेत्र हो जसमा नाफा नलिने जमातहरुको समेत अर्थपूर्ण सहभागिता हुन्छ । जैविक विविधता जिवित प्रकृतिको सुष्टिगत विविधता हो । पृथ्वीको उत्पत्ति क्रममा जमिन एउटै थियो । समयक्रमसँगै टुक्रियो । सृष्टिका विकासक्रम र जैविक विविधता ठूला भौगोलिक चट्टानका रुपमा टुक्रियो । त्यसो त सालक आफैमा प्रकृतिको अनुपम उपहार हो ।
आकारमा सानो तर डाइनोसरको काल्पनिक आकारसँग मिल्दोजल्दो सालक स्तनधारी प्रजातिको विश्वमै सबैभन्दा धेरै चोरीसिकारी हुने जनावर समेत मानिन्छ । संसारमा हालसम्म ८ प्रजातिका सालकहरु पत्ता लागेका छन् । यो जनावर स्वभावमा लजालु हुन्छ । यसले कमिला, धमिरा र प्रोटिन युक्त धमिरा प्रजातिका किराहरु खाने गर्दछ ।

कुनै पनि भयबाट जोगिन यसको छुट्टै विशेष अनुकुलता छ, जुन हो यो गोलो डल्लो वलको रुपमा बस्न सक्छ, भिरपहराबाट गुड्न वा गति लिन समेत सक्छ । शरीरमा रहेको केराटिन भन्ने तत्वबाट बनेका कत्लाहरुको साहाराले यसले आफूलाई चोटपटक लाग्नबाट बचाउछ । कत्लाले समाउन खोज्दा काट्न समेत सक्छ, यो धारिलो समेत हुन्छ । अन्धविश्वासको काराले कत्लाको अन्तराष्ट्रिय व्यापार सबैभन्दा धेरै छ । स्वादको कारणले मानिसले मासु खाने गर्छन् ।
अफ्रिका र एसिया महादेशमा पाइने यो प्रजातिलाई कमिला खाने भएरै अंग्रेजीमा ‘स्केली आन्ट इटर’ समेत भनेर चिनिन्छ । यसको जिव्रो करिव ४० सेमीसम्म हुन्छ । तन्काउदा दोब्बर बन्न सक्ने क्षमताको जिब्रो हुन्छ । रुखका टोड्का समेतबाट निकालेर कमिला र धमिरा खानसक्ने यसको क्षमता हुन्छ । यो प्रजाति रातिमा सक्रिय हुन्छ । यस प्रजातिको बारेमा भएका अनुसन्धान पर्याप्त छैनन्, बढी भन्दा बढी हुनु जरुरी छ । प्रकृतिको अवयवहरुलाई फाइदामा जोड्नुको सट्टा तत्कालिन मौद्रिक फाइदा मात्र हेरिनु जैविक विविधता संकटको सुरुवात हो । हुन त यो पृथ्वीको विविधता लामो समयदेखि संकटमा छ । कति नासिए, पत्तो छैन तर कति छन पत्ता लाग्दैछन् । कति विकासक्रममा परिवर्तित रुपमा छन, अनुमानमै सिमित छन् । विस्तृत अनुसन्धान र ऐतिहासिक विकासक्रमको खोज आजको आवश्यकता हो । यसलाई जोगाउन यसको बासस्थान पारिस्थितिक प्रणाली बचाउन अपरिहार्य छ ।