हेटौंडाः नेपाल पत्रकार महासंघ, मकवानपुरको १७औं वार्षिक साधारणसभा कात्तिक महिनामा हुने भएको छ । महासंघ बैठकले आगामी कात्तिक १९ गते साधारणसभा गर्ने निर्णय गरेको हो । बैठकले साधारणसभा तयारीको लागि विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।

त्यस्तै, बैठकले उपाध्यक्ष धु्रब अधिकारीको संयोजकत्वमा पुरस्कार छनोट समिति गठन गरेको छ । महासंघ मकवानपुरका संस्थापक अध्यक्षको नाममा स्थापना गरी साधारणसभाको अवसरमा प्रदान गरिँदै आएको न्हुच्छेमान श्रेष्ठ कृयाशील पत्रकारिता पुरस्कार र युवा व्यवसायी महेन्द्र राउतले स्थापना गर्नुभएको पार्वतीमान/बोमबहादुर राउत अग्रज पत्रकारिता पुरस्कार वितरणका लागि छनोट उपसमिति गठन गरिएको हो ।

अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा बसेको बैठकले चाडपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ । विगतका वर्षहरुमा झैँ महासंघले यसवर्ष पनि सदस्यहरु तथा सरोकारवालाहरु बीच आत्मीय सम्बन्धलाई निरन्तरता दिने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको हो।

यही असोज १४ गते शुक्रबार बिहान शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागिएको हो । महासंघ बैठकले अस्वस्थ रही उपचाररत रहुनभएका पूर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार कौशल पाण्डेको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।