हेटौंडाः हँसिलो मुहार । स्वभाव मिलनसार । देख्नासाथ बोलाइहाल्ने, मिजासिलो व्यवहार । जीवनशैली सरल, सामाजिक कार्यमा सँधै अग्रसर । जो कोहीलाई सायद यस्तै–यस्तै व्यक्ति मनपर्छ । त्यस्तै बोली र व्यवहारले जनमनमा बस्न सफल देखिन्छन्, भक्तबहादुर खत्री ।

आसन्न स्थानीय तह निर्वाचनमा बकैया गाउँपालिकाको उपाध्यक्षका पदका उम्मेदवार उनी यस पदका बलिया दाबेदार पनि हुन् । अघिल्लो स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजयको अनुभव बटुलेका उनी निरन्तर जनताको माझमा जोडिँदै प्रशंसकको मन जित्न सफल देखिएका छन् । ‘मत माग्न घरदैलोमा पुग्दा जनताको स्वागत पाउँदा एकदमै उत्साहित छु’, उनी भन्छन् ।

माओवादीका स्थानीय नेता रहेर लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट उनले बकैया गाउँपालिका उपाध्यक्षको लागि प्रतिस्पर्धा गर्दैछन् । ‘उहाँको सरल स्वभावले हामी प्रभावित छौँ, यस्तै प्रतिनिधि खोजेका हौँ’, बकैया–८ का सविना घिसिङले भनिन् । आफूले निरन्तर जनताको बीचमा बसेर काम गरेको भन्दै खत्रीले अब थप जिम्मेवारी पाए आफूले सही किसिमले पूरा गर्ने बताए ।

प्रतिस्पर्धीको समेत सम्मान गर्ने खत्रीको स्वभावले आफूहरु प्रभावित भएको बकैया–५ का दिपक लामा बताउँछन् । सामुदायिक बन, सामाजिक संस्थाहरु लगायत विभिन्न क्षेत्रमा आबद्ध उनी आफू रहेको क्षेत्रमा राम्रो काम गर्दै आएको व्यक्तिका रुपमा परिचित छन् । स्वभाव र व्यवहारका कारण राम्रो पहिचान बनाएका उनी पार्टीले विश्वास गरी जिम्मेवारी दिएकोमा खुशी छन्, भने जनताले आफूलाई जिम्मेवारी सुम्पिनेमा ढुक्क छन् । भन्छन्, ‘उहाँहरुले जिम्मेवारी दिनुभयो भने म जनमतको सम्मान हुनेगरी काम गर्छु ।’