हेटौंडाः आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले विज्ञप्ति जारी गरेको छ । यही वैशाख ३० गते हुन गइरहेको चुनावमा प्रदेशका सबै मतदान केन्द्रलाई अपाङ्गता भएका व्यक्तिहरुको पहुँचयुक्त बनाउन अनुरोध गरेको हो ।
घरदेखि मतदान केन्द्रसम्म पुग्न नसक्ने अपाङ्गता भएको व्यक्तिहरुलाई विना अवरोध र सहज वातावरणमा केन्द्रसम्म पुग्न यातायातको व्यवस्था, सहायक सामाग्रीको व्यवस्था गरी आफुले चाहेको व्यक्ति वा दललाई स्वतन्त्रता पुर्वक मतदान गर्ने व्यवस्था मिलाइदिन महासंघले माग गरेको हो ।
अध्यक्ष अश्विन लम्सालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मतदान केन्द्रलाई पहुँचयुक्त बनाई सहज र सरल ढंगमा मतदान गर्ने वातावरण मिलाउनुका साथै मतदाता नामावलीमा सुचिकृत भएको अपाङ्गता भएको व्यक्तिलाई मतदान प्रक्रियामा सहभागी गराईदिनु हुन राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमतीबाट सम्पुर्ण राजनीतिक दल, निर्वाचन आयोग, सरकार, नागरिक समाज र सरोकारवालाहरुलाई अनुरोध गरिएको छ ।’