रन्जिता डंगोल/हेटौंडा: प्रचण्ड गर्मी । घडीमा पाँच बज्नै लाग्दा तातो घाम रातो हुन्छ र दिन साँझमा परिणत हुन थाल्छ । जब घाम डुब्दै गरेको देखिन्छ, तब हेटौंडा बजार नजिकै रहेको हुप्रचौरमा जेष्ठ नागरिकहरुको जमघट सुरु हुन्छ ।

यहाँ भेला हुन रमाउने मध्येका एक हुन्, हेटौंडा–४, का दामोदर खनाल । उमेरले ८९ वर्ष पुगेका खनाल बुढेसकालमा सितल छहारीसँगै साथीहरुसँग कुराकानी गर्ने र आफ्नो मन भुलाउनको लागि यहाँ आउने गरेको बताउँछन् । छोराबुहारी बाहिर काममा जाने र नाती स्कुल जाने । एक्लै घरमा बस्न गाह्रो हुन्छ । घरमै भएको समयमा पनि आजभोली सबैजना सामाजिक सञ्जाल र मोबाईलमा व्यस्त हुने भएकोले घरमा उनलाई एक्लो महसुस हुन्छ । घरमा आफूसँग भलाकुसारी गर्ने कोही पनि नहुने भएकोले साँझ भएपछि यही चउरमा आउने गरेको उनी बताउँछन् । यहाँ आउँदा आफूलाई एक्लो महसुस नहुने र साथीहरुसँग कुराकानी गर्दा मन आनन्दित हुने उनी बताउँछन् ।

उनको जस्तै अनुभव छ, हेटौंडा–४, कै ६६ वर्षीय उमा दाहालको पनि । दिनभरी घरमा बस्दा–बस्दा दिक्क लाग्ने भएकोले साँझपख यहाँ आउने गरेको उनी बताउँछन् । छोराबुहारी कामको लागि अफिस जाने भएकोले नातिनीलाई दिनभर घरमा हेरबिचार गर्नुका साथै साँझपख उसलाई पनि साथमा लिएर यही चौरमा आउने गरेको उनी बताउँछन् । दिनभरिको बसाईले मनोटोनस भएर साँझ भएपछि यहाँ साथीहरुसँगै मन भुलाउन चौरमा आउने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘गाउँमा भए खेतीपाती हुन्थ्यो, काम गरिन्थ्यो र मन भुलिन्थ्यो यहाँ शहरमा सिमित जग्गा जमीन हुन्छ त्यति काम हुँदैन त्यसैले एक्लोपन कम गर्न भएपनि साँझ परेपछि यहीँ आउँछु ।”

बुढ्यौलीको एक्लोपन हटाउँदै साहित्यिक माहोल बनाउन हेटौंडा उपमहानगरपालिकामा बुढ्यौली साहित्य समाज गठन गरिएको छ । हेटौंडा–४, निवासी व्यंङ्ग्यकार तथा साहित्यकार आरसी रिजालले यसको नेतृत्व गरेका हुन् । ७० वर्षीय रिजाल आफै यस संस्थाको अध्यक्षसमेत छन् । साहित्यिक रचना मार्फत बुढ्यौलीलाई जोड्ने उद्देश्यले संस्था दर्ता गरेको अध्यक्ष रिजालले बताए । संस्था मार्फत स्वास्थ्य, सम्पत्ति लगायतका विषयमा जानकारी दिन सकिने भएकोले पनि बुढ्यौली साहित्य समाजको आवश्यकता महसुस गरि गठन गरिएको अध्यक्ष रिजालले जानकारी दिए ।

हाम्रो समाजमा बाबुआमाको सम्पत्ति सन्तानका लागि राख्ने र आमाबुबाको सम्पत्ति पाएपछि आफ्नो सन्तानले अभिभावकलाई हेरबिचार नगर्ने चलन बढ्दै गएको छ । आफ्नो सम्पत्तिमा आफ्नै पहिलो अधिकार हुन्छ । आफूलाई मन लागेको काम गर्न, आफूलाई घुम्न मन लागेका स्थानहरुमा जान र रमाईलो गर्नका लागि पनि सम्पत्ति आवश्यक पर्ने भएकोले सन्तानको लागि भनेर सम्पत्ति साँच्न नहुने उनी बताउँछन् । बुढ्यौली उमेरमा धेरै रोगहरु लाग्ने हुनाले यसबाट जोगिनका लागि पनि संस्था मार्फत स्वास्थ्यको बारेमा जानकारी गराउन सकिने अध्यक्ष रिजालले बताए ।

बुढ्यौलीको जमघट कहाँ भन्दा जहाँ चोक चौतारो रहन्छ त्यहाँ नै बुढ्यौलीको जमघट हुने ७३ वर्षीय बुढ्यौली साहित्य समाजका उपाध्यक्ष रामचन्द्र आचार्य (फुर्सदी)ले बताए । आचार्य भन्छन्, “बुढ्यौलीलाई बरदान मान्नेहरु पनि यही समाजमा छन् र बुढ्यौलीलाई अभिषाप मान्नेहरु पनि यही समाजभित्र छन् । हामीले कुरा उठान गरेको अभिषाप मान्नेहरुलाई कसरी बरदान मान्न सघाउन सकिन्छ भन्न हो ।” बुढेसकालमा मनलाई अडाउन, मनलाई स्थिर गर्नका लागि पनि चोक, चौतारो, विश्राम स्थलका साथै साहित्य जस्ता कुराहरुमा बुढ्यौलीको मन थीरमा रहने आचार्य बताउँछन् ।

अक्षय कोष स्थापना
पच्चीस देखि ३० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको बुढ्यौली साहित्य समाजले १३ लाख रुपैयाँ संकलन गरिसकेको छ । संस्थाको अक्षयकोष खाता महालक्ष्मी बिकास बैङ्कमा रहेको अध्यक्ष आरसी रिजालले बताए । अक्षय कोषका लागि हेटौंडा उपमहानगरपालिकाबाट दुई लाख रुपैयाँ र सिता रिजालबाट एक लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । जेष्ठ नागरिक सम्बन्धी संस्थाका अध्यक्ष चटाङ्ग मास्टरबाट एक लाख रुपैयाँ सहयोग प्राप्त भएको छ, भने करिब एक सय जना दाताहरुबाट १३ लाख रुपैयाँ रकम संकलन भएकोे अध्यक्ष रिजालले बताए ।

स्थानीय तहको निर्वाचन सकिएपछि सहयोगी हातहरु खोज्ने र स्थानीय सरकारसँग सहयोग लिई सोही कार्यलाई निरन्तरता दिइने रिजाल बताउँछन् । अक्षयकोषलाई बढाएर पच्चीस देखि ३० लाख बनाउन सकियो भने यो संस्था आफै सक्षम हुने र संस्थालाई बलियो संस्थाको रुपमा विकास गराउन आफू लागिपर्ने योजना अध्यक्ष रिजालले सुनाए । सोही अक्षय कोषबाट आएको ब्याजबाट संस्थाले यसवर्ष दुई जना श्रष्टालाई सम्मान गरेको हो । साहित्यकारसँगै स्वास्थ्य अवस्था कमजोर भएका र कम्मरभन्दा मुनिको भागले काम गर्न नसक्ने नवलपरासीका दुर्गा श्रेष्ठलाई नगद २० हजार रुपैयाँसहितको बुढ्यौली साहित्यतर्फ नगद २५ हजार रुपैयाँ नवराज शर्मालाई प्रदान गरिएको थियो । संस्थाले महिनाको पन्ध्र–पन्ध्र दिनमा रेडियो कार्यक्रम सञ्चालन गर्ने गरेको र त्रैमासिक पत्रिका प्रकाशन समेत गरिरहेको अध्यक्ष रिजालले जानकारी दिए । संस्थामा ७ जनाको कार्यसमिती रहेको अध्यक्ष रिजालले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिकाले १९ वटा वडाहरुका लागि चार लाख रुपैयाँ रकम छुट्याएको छ । जेष्ठ नागरिक सम्मान गर्दा जेष्ठ नागरिकको घर दैलोमा नै पुगेर सम्मान गर्ने साथै सम्मानमा महिला अनिवार्य हुनुपर्ने मापदण्ड रहेको हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका विकास महाशाखाका अधिकृत जगन्नाथ सापकोटाले जानकारी दिए । एउटा वडाबाट तीन जना जेष्ठ नागरिक सम्मानका लागि तोकिएको अधिकृत सापकोटाले जानकारी दिए । जेष्ठ नागरिककै लागि भनेर बजेट नआउने र उपमहानगरपालिकाले कल्याणकारी बजेट मार्फत लक्षित समुदायका मुद्दाहरुलाई सम्बोधन गरिरहेको जनाएको छ । नगरका १९ वटै वडाहरुमा जेष्ठ नागरिक बिश्राम स्थल निर्माण कार्यका लागि बजेट रकम छुट्याईएको छ । केही वडाहरुमा निर्माण समेत भईसकेका छन् । निर्माण कार्य बाँकी रहेका वडाहरुमा समेत निर्माण कार्य भईरहेको महाशाखा अधिकृत सापकोटाले जानकारी दिए ।

केही वडाहरुमा आश्रय स्थलसँगै भजन किर्तनका लागि आवश्यक बाद्यवादक सामग्रीहरु वितरण गरेको उनले जानकारी दिए । आगामी वर्षहरुमा नीति नै बनाएर अगाडी बढ्ने पनि उनले बताए । हाल नगरमा ६ हजार ३४० जनाले सामाजिक सुरक्षा भत्ता लिईरहेका छन् । जसमध्ये दुई हजार आठ सय ४४ जना पुरुष र तीन हजार नौ सय ९६ जना महिला छन् । जेष्ठ नागरिकले मासिक चार हजार रुपैयाँ बुझ्दै आएका छन्, भने एकल महिलाहरुले पाईराखेको भत्तामा ११ प्रतिशत जोडेर भत्ता वितरण गरिएको हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले जानकारी दिए । –समृद्ध समाज दैनिकबाट