हेटौंडाः निर्वाचन नजिकिँदै गर्दा पदीय मर्यादा विपरित आचारसंहिता उल्लंघनका समाचार दिनानुदिन बढिरहेको सन्दर्भमा मकवानपुरको थाहा नगरपालिकामा भने उदाहरणीय कार्य भएको छ । आफू आबद्ध दल तथा गठबन्धनका उम्मेदवारलाई सघाउन भन्दै थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टले राजिनामा दिनुभएको हो । बिहीबार दिउँसो प्रमुख बिष्टले उपप्रमुख खड्ग बहादुर गोपाली समक्ष राजिनामा दिनुभयो ।

राजीनामापछि प्रतिक्रिया दिँदै बिष्टले भन्नुभयो, “दल छोडी पद, पद छोडी दल भन्ने रुपचन्द्र बिष्टको भनाइलाई मनन गर्दै मैले राजीनामा दिएको हुँ ।” साथै, यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको चुनाव प्रचारप्रसारमा लाग्न निर्वाचन आचारसंहिता अनुसार नमिल्ने भएकोले राजिनामा दिएको नगरप्रमुख बिष्टले बताउनुभयो ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य समेत रहनुभएका बिष्ट गठबन्धन अन्तरगत माओवादी केन्द्रका तर्फबाट नगर प्रमुख पदका आधिकारिक उम्मेदवार बिष्णु बिष्ट ‘आदर्श’, कांग्रेसको तर्फबाट उपप्रमुख पदका आधिकारिक उम्मेदवार भरत गोपाली लगायतका उम्मेदवारहरुलाई बिजयी गराउनका लागि प्रचारप्रसार तथा चुनावी सभाको सम्बोधन गर्नुहुनेछ ।

बिष्ट नेतृत्वको ५ बर्षे कार्यकालमा थाहानगरको विकासमा ठुलो फड्को मारेको थियो । यही बिकासलाई निरन्तरता दिन र बाँकी रहेका कार्यहरुलाई सम्पन्न गर्न माओबादी केन्द्र लगायत गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन बिष्टले अनुरोध समेत गर्नुभयो ।

बिष्टले आफ्नो कार्यकालमा थाहा नगरलाई देशकै उत्कृष्ट स्थानीय तहको रुपमा परिचित गराउनुभएको थियो । सोही कार्यकालमा थाहा नगर वित्तीय समानीकरण अनुदान प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारको गरेको कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट र बेरुजु फछर्यौट गर्ने विषयमा पनि देशकै सर्वोत्कृष्ट स्थानीय तह घोषित भएको थियो । बिष्टले अब आफू निर्धक्क भएर पार्टीको चुनाव प्रचारमा हिँड्ने बताउँदै गठबन्धन उम्मेदवारहरुलाई बिजयी गराउन लागिपर्ने बताउनुभयो ।