हेटौंडाः बालमैत्री बकैया गाउँपालिकामा बालश्रम न्यूनीकरण तथा रोकथामका लागि नीतिगत पत्र हस्तान्तरण भएको छ । बालमैत्री गाउँपालिका घोषणा भइसक्दा पनि केही स्थानमा अझै निकृष्ट बालश्रम देखिएको तथ्यसहित बालश्रम न्यूनीकरणका लागि ग्रामीण महिला स्वावलम्बन संस्थाले नीतिगत पत्र हस्तान्तरण गरेको हो ।

संस्थाले यस क्षेत्रमा काम गर्ने गरि सञ्चालन गरेको सक्रिय परियोजना अन्तर्गत एक सर्वेक्षण गरी समुदायमा निकृष्ट श्रम गर्ने र श्रममा जाने जोखिममा रहेका बालबालिकाको तथ्यांक संकलन गरेको थियो । बालश्रम बिरुद्धको नीति सहित सो तथ्यांक एक कार्यक्रमबीच संस्थाका कार्यक्रम प्रबन्धक सोमबहादुर स्याङ्तानले बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीलाई हस्तान्तरण गर्नुभएको थियो ।

बकैया गाउँपालिकाले उक्त नीतिपत्रलाई सहयोगी तथ्यांकको रुपमा लिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले सो विषयलाई कार्यपालिका बैठकमा जानकारी गराउने र कार्यान्वयन तहमा लैजाने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा बकैया गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख फटिकरमण प्याकुरेल र ८ नम्बर वडाध्यक्ष इन्द्रबहादुर स्याङ्तानले बालश्रम बिरुद्धका विषयहरुमा गाउँपालिकाले निरन्तर काम गर्ने र यसबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बकैया गाउँपालिकाका ७ नम्बर वडा सदस्य किशोर थापा, गाउँपालिका अन्तर्गत विभिन्न शाखाका कर्मचारी तथा जनप्रतिनिधिहरु सहभागी भएको संस्थाका सामाजिक परिचालक भक्त लामा भोलनले जानकारी दिनुभयो ।