हेटौंडाः माझी समुदायले मनाउँदै आएको लदी पर्वलाई राष्ट्रिय पर्वमा सूचिकृत गर्न माग गरिएको छ । सो माग राख्दै माझी राष्ट्रिय मुक्ति मोर्चा नेपालले बागमती प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको हो ।

लदी पर्वलाई राष्ट्रिय पर्वमा सूचिकृत गर्न माग गर्दै बिहिबार मोर्चाको टोलीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको हो । नेपाल बहुभाषिक, बहुधार्मिक र बहुजातीय, बहु सांस्कृतिक विविधताले भरिएको मुलुक भएका कारण माझी जातीहरुको पहिचानलाई समेत मध्यनजर गर्दै लदी पर्वलाई राष्ट्रिय पर्वमा सूचिकृत गर्नुपर्ने मोर्चाको माग छ ।

अन्य जाती जस्तै माझी जाती पनि देशैभर छरिएर रहेको र हिन्दु वर्ण व्यवस्थाभित्र नपरेका किरात, मगर, लिम्बु थारु जस्तै माझी जाती पनि अष्टद्रविड मुलभित्र पर्ने एक अति सिमान्तकृत आदिवासी जनजाती भएको बागमती प्रदेश सभा सदस्य बुद्धिमान माझीले बताए ।

बागमति प्रदेश अन्तर्गतका जिल्लामा माझी जातीको बसोबास भएको र आदिवासी जनजाती जस्तै माझी जातीको पनि छुट्टै भाषा, लिपी, संस्कृति र पहिचान भएकोले माझी जातीलाई समेटेर सरकारी बिदाको व्यवस्था गर्नुपर्ने माग गरिएको मोर्चाका केन्द्रीय सदस्य लक्ष्मी माझीले बताईन्।

माझी जातिको विषयमा सरकारको ध्यान नपुगेको र विगतमा पनि यस विषयमा ध्यानाकर्षण गराउँदा समेत यस जातिको भाषा, धर्म र संस्कृतिले हालसम्म कुनै स्थान र मान्यता पाउन नसकेका मोर्चाका केन्द्रीय महासचिव उर्मिला माझीले बताइन् । संघीय व्यवस्था सहितको मुलुकमा माझी जातीको मागलाई प्रदेश सरकारले सम्बोधन गर्ने भनी आश्वासन पाएको भन्दै महासचिव माझीले यस विषयमा प्रदेश सरकार संवेदनशील हुने विश्वास व्यक्त गरिन् । ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले यस विषयमा आफू सकारात्मक रहेको र आफ्नो तर्फबाट पहल हुने आश्वासन दिए ।

माझी समुदायले हरेक वर्ष फागुनको तेस्रो साता यो पर्व मनाउने गरेका छन्। उक्त समुदायले फागुन महिनाको तेस्रो साताको (साइली) मंगलबारलाई आधार मानेर तीन दिनसम्म यो पर्व मनाउने गर्दछन् । प्रकृति नै पानीबाट सिर्जना भएकाले पानीको पूजा गर्दा प्रकृति खुसी हुने माझी समुदायको विश्वास छ। नेपालका विभिन्न ५८ जिल्लामा छरिएर बसेको ८३ हजार माझीले पानीको पूजा गर्दै यो पर्व मनाउँछन् ।