हेटौंडाः बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले विगतमा आफूले श्यामप्रसाद शर्मालाई निकै खोजेको बताउनुभएको छ । शनिबार हेटौंडामा आयोजित ‘स्मृति बिम्बमा श्यामप्रसाद’ विमोचन समारोहमा मन्तव्य राख्दै उहाँले यस्तो बताउनुभएको हो ।
आफ्नो युवाकालमा पार्टी संगठन विस्तार गर्दै जाँदा संगठनमा जोडिन आउने साथीहरु देखेपछि तपाईंका राजनीतिक गुरु को हुनुहुन्छ भनेर धेरै सोधखोज गरेको र अहिले आएर ति व्यक्ति श्यामप्रसाद रहेछन् भन्ने थाहा पाएको सभामुख श्रेष्ठले बताउनुभयो । ‘साथीहरुलाई तपाईंका गुरु को हुन् भनेर धेरै सोधेँ, तर त्यतिबेला कसैले बताएनन्’, सभामुख श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार त्यतिबेला संगठनमा बस्न आउनेहरु बुझाईमा परिपक्व देखिएपछि उनीहरुका गुरुबारे खोजी गरिएको थियो । राजनीतिसँग जोडिएको श्यामप्रसादको जीवनबारे चर्चा गर्दै उहाँले आफूले निकै पछि मात्रै उहाँबारे जानकारी पाएको बताउनुभयो ।
कार्यक्रमका वक्ताहरुले श्यामप्रसाद एक कुशल संगठक, राजनीतिकर्मी, पत्रकार, साहित्यकार एवम् असल चरित्र भएका व्यक्तित्वका रुपमा चित्रित गर्दै उहाँका विचारहरुलाई पछिल्लो पुस्तामा पनि लैजानुपर्ने विचार व्यक्त गरे । तथ्यहरुले देखाए अनुसार देशमै पहिलोपटक माओवादी शब्द प्रयोग गर्ने राजनीतिकर्मीका रुपमा श्यामप्रसाद देखिएको भन्दै वक्ताहरुले उनै श्यामप्रसाद मकवानपुर जिल्लाको पहिलो कम्युनिष्ट रहेको पनि दाबी गरे ।
६६ जना व्यक्तिका रचना संगालोको रुपमा प्रकाशित पुस्तक ‘स्मृति बिम्बमा श्यामप्रसाद’ श्यामप्रसाद शर्माको स्मृतिमा विभिन्न व्यक्तित्वले लेख्नुभएको रचनाहरुको संगालो हो । श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालले पुस्तक प्रकाशन गरेको हो । पुस्तकको बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठसँगै राजनीतिक एवम् सामाजिक व्यक्तित्वले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
पुस्तक लोकार्पण समारोहमा श्यामप्रसाद शर्माको व्यक्तित्वका विषयमा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले जानकारी गराउनुभएको थियो । यस्तै, प्राध्यापक घनश्याम घिमिरे र ऋषिराम पोखरेलले पुस्तकको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
बि.सं. १९८६ मा मकवानपुरको मन्थली, सोलीथुममा जन्मनुभएका श्यामप्रसाद शर्माको २०७४ साल बैशाख २४ गते निधन भएको थियो । श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपाल मकवानपुरका अध्यक्ष कौशल पाण्डेको अध्यक्षतामा पुस्तक विमोचन समारोह सञ्चालन भएको हो । कार्यक्रममा सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
पुस्तक लोकार्पण समारोहमा राजनीतिकर्मी बद्रिप्रसाद खतिवडा, केदार न्यौपाने, बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, मुनु सिग्देल, ओमबहादुर ग्लान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायत साहित्यकार एवम् राजनीतिकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा श्यामप्रसादले राजनीति, साहित्य र पत्रकारिता क्षेत्रमा पुर्याउनुभएको योगदानको चर्चा गरिएको थियो ।