
हेटौंडाः मुलुकमा ‘रेड ट्याक्स’को बहस चलिरहेका बेला मकवानपुरको बकैया गाउँपालिका अन्तर्गतका विद्यालयमा सेफ्टी सेनेटरी प्याड भेन्डिङ मेसिन जडान गर्न थालिएको छ । ‘महिनावारीले सफलता नछेकोस्’ भन्ने हेतुका साथ गाउँपालिका अन्तर्गतका सबै माध्यमिक विद्यालयहरुमा मेसिन राख्न लागिएको बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिनुभयो ।

आइतबार हात्तीसुँडेस्थित गाउँपालिका कार्यालयमा मेसिन जडान गरी अभियानको सुरुवात गरिएको छ । विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरणलाई सरल, सहज र व्यवहारिक गराउन मेसिन जडान गर्न लागिएको हो । मेसिनमा दुई रुपैयाँको सिक्का राखेर प्याड लिन सकिनेछ । प्याड निःशुल्क वितरण गरिने हुँदा मेसिनमै सुरक्षित रहने उक्त सिक्कालाई प्रयोगकर्ताले पुनः प्रयोग गर्नेछन् । साथै, प्रयोग गरिसकेको प्याड नजिकै जडान गरिएको डिस्पोजल मेसिनबाट नष्ट गर्न सक्ने व्यवस्था मिलाइएको छ ।



गाउँपालिका कार्यालयमा सेफ्टी सेनेटरी प्याड भेन्डिङ मेसिन जडान भएपछि परीक्षणका रुपमा सुरुवात गर्दै उपाध्यक्ष सरला बोलखे तथा गाउँपालिकाका कर्मचारीद्वय कविता भट्ट र रोजिना सापकोटा ।