दिवंगत मनकुमारी श्रेष्ठ

हेटौंडाः मकवानपुरमा रहेर पत्रकारिता गर्दै आउनुभएकी मिना श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठकी आमा काठमाडौंको कपन निवासी ८३ वर्षीय मनकुमारी श्रेष्ठको असोज ४ गते बिहान उपचारको क्रममा निधन भएको हो ।

उहाँको निधनमा शोक वक्तव्य जारी गर्दै प्रेस संगठन, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लगायतले श्रद्धाञ्जली व्यक्त गरेको छ । संगठनकी अध्यक्ष अञ्जली थापाले शोक वक्तव्य जारी गर्दै भन्नुभएको छ, ‘प्रेस संगठन मकवानपुरकी सदस्य मिना श्रेष्ठकी ममतामयी आमा मनकुमारी श्रेष्ठको असामयिक निधनले प्रेस संगठन मकवानपुरलाई अत्यन्त मर्माहत बनाएको छ । शोकको यो घडीमा दिवंगत श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछौं ।’

त्यसैगरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले शोक वक्तव्य जारी गर्दै दिवंगत मनकुमारी श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । फोनिज मकवानपुरकी सहसचिव रहनुभएकी मिना श्रेष्ठकी ममतामयी माताको दु:खद् निधन भएकोमा शोक वक्तव्य जारी गर्दै फोनिज मकवानपुरका सचिव नवराज वाईबाले भन्नुभएको छ, ‘शोकको यो घडीमा दिवंगत हुनुभएका स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछौं ।’

उच्च रक्तचापका कारण प्यारालाइसिस भई लामो समयदेखि बेड रेस्टमा रहनुभएका मनकुमारी श्रेष्ठको उपचारको क्रममा सोमबार बिहान निधन भएको थियो । मिडिया मार्फत लागुऔषध बिरुद्धको अभियान चलाउने जागरण मिडियाकी अध्यक्ष मिना श्रेष्ठ जागरण मिडियाद्वारा सञ्चालित बागमती समाचार डट कमको सञ्चालक तथा प्रबन्ध निर्देशक हुनुहुन्छ ।