हेटौंडाः बद्री प्रसाद पौडेल एक निम्न वर्गीय किसान परिवारमा जन्मिएका व्यक्ती हुन् । आमभन्ज्याङ–८, हाल मकवानपुर गढी–६, सरङ्पुर स्थायी घर भएका उनी पाखा पखेरोमा घाँस, दाउरा गर्दै गाउँकै विद्यालयमा कक्षा १० सम्म पढी हुर्किए । घरायसी आर्थिक अवस्थाको कारण पढाईलाई अगाडी बढाउन नसकेका उनी आफ्नै जीवन, व्यवहार, परिवेशबाट धेरै ज्ञान, अनुभव हासिल गरेका छन् । काम गर्नसक्ने उमेर भएदेखि नै आफ्नै स्वरोजगार व्यवसाय ठेलागाडामा तरकारी, फलफूल बिक्री वितरण गरि जिबिकोपार्जन गर्न थालेका उनी आफ्नै गाउँ वरपर, हेटौंडा बजार आसपास आफ्नो व्यवसायको लागि परिचित थिए ।

पछि जब २०६५ सालमा नेपाल सरकारले युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्यो तब उनी मकवानपुर उद्योग बाणिज्य संघ पुगे र ३ दिने कोष सम्बन्धी अभिमुखीकरण तालिम लिए । तालिम पश्चात् उनी फेरि आफ्नै काममा फर्किए । ४ वर्षपछि २०६९ सालमा जब कोषको कार्यक्रम जिल्लामा सहकारी मार्फत संचालन भयो, पत्र पत्रीका र रेडियो मार्फत उनले जानकारी पाए । उनी हतारिँदै कोषको जिल्लास्थित कार्यालय मकवानपुर उद्योग बाणिज्य संघ पुगे । त्यहाँबाट सम्पूर्ण जानकारी भए पश्चात् उनी दिव्यतारा बहुद्देश्यीय सहकारी सस्था लि.हेटौंडा–२ पुगेर आफ्ना योजना सुनाए ।
उनले इलेक्ट्रिक रिक्सा खरिद गरि व्यवसायी हुन चाहेको र त्यसको लागि तालिम प्राप्त रहेकोे पनि बताए । उनको योजना सुनेर संस्थाका व्यवस्थापक रमेश प्रसाद कोइरालाले ई–रिक्साको बिक्रेतासँग सम्झौता गरि २०६९ मा कर्जा लगानी बापत दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरे । साथै निज बद्री प्रसाद पौडेलले पन्ध्र हजार थप गरी दुई लाख पन्ध्र हजार रुपैयाँमा ई–रिक्सा खरिद गरे । तत्पश्चात उनी युवा स्वरोजगार कोष तथा सहकारीको सहयोगको बोर्ड आफ्नो रिक्सामा राखेर नियमित आफ्नो व्यवसायमा लागे । आफ्नो काममा सदैव उत्साही एवम् आत्मविश्वासी रहेका पौडेलले केही समयमा नै सफलताको बाटोतिर अग्रसरता देखाए ।

हेटौंडा बजारको लागि नयाँ साधनको रुपमा रहेकोे ई–रिक्सा सबै मानिसहरुको रोजाईको साधन बन्यो । उनी पनि दैनिकी जम्मा भएको रकम सहकारीमा जम्मा गरिहाल्थे । त्यतिखेर दैनिक जसो राम्रो कमाई हुन्थ्यो, कहिले त खर्च गरेर पनि तीन हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्म संस्थामा जम्मा गर्थे, उनी अहिले सम्झन्छन् । यसरी उनले २ वर्षभित्र नै आफ्नो कर्जा चुक्ता गरि नियमित किस्ता बुझाएर कर्जा चुक्ता गरेकोले नेपाल सरकारबाट प्रदान गरिने ६० प्रतिशत व्याज अनुदान वापत एक्काइस हजार रुपैयाँ समेत बुझे । त्यसै क्रममा २०७१ सालमा दिव्यतारा बहुद्देश्यीय सहकारीको वार्षिक साधारणसभामा संस्था तथा स्वरोजगार कर्जा लिने सदस्यमध्ये नियमित किस्ता, व्याज बुझाई असल बचतकर्ताको रुपमा समेत उनी सम्मनित हुन पुगे ।

उनले त्यस अवधिमा आफ्नो कमाइबाट हेटौंडा–६ चौघडामा ८ धुर जग्गा घडेरी समेत किन्न सफल भए । अरु केही सहकारीमा समेत नियमित बचत तथा कारोबार गर्ने उनि सबैतिर इमान्दार सदस्य रहेको भेटिन्छन् । उनी भन्छन्, ‘मलाई सानैदेखि आफ्नै गाउँ, घर परिवेश राम्रो लाग्थ्यो । स्वर्ग जस्तो आफ्नो देश छोडेर विदेशिन कहिल्यै मन भएन, आफ्नो कामप्रति सदा गर्व रहेको छ । पसिना, पौरख गरे आफ्नो ठाउँमा आफन्त, इस्टमित्रसँग रमाई रमाइकन मनग्य कमाउन सकिन्छ । स्वरोजगार कोष तथा दिव्यतारा सहकारीले आफुलाई विश्वास गरि स्वरोजगार कर्जा दिएकोमा खुशी व्यक्त गर्दै उनी भन्छन्, सरकारको यो कार्यक्रम निरन्तर चलोस्, म जस्ता सीप, जाँगर भएकाहरु धेरैले कर्जा पाउन सकुन् । हामी स्वरोजगार कर्जा लिई असल व्यवसायी बनेकाहरुलाई समेत भविष्यमा सरकारले सम्झियोस्, पुनः कार्यक्रममा सहभागी हुन पाइयोस् ।’ -मिना अर्याल, असुली सहजकर्ता/युवा तथा साना ब्यवशायी स्वरोजगार कोष मकवानपुर