हेटौंडाः स्थानीय बन ऐन नीति नियम समुदायमैत्री बनाउने र प्रभावकारी कार्यान्वयनको लागि पहल गर्ने उद्देश्यका साथ मंगलबार बकैया गाउँपालिकाको हात्तीसुँडेमा समन्वयात्मक बैठक भएको छ । सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरको आयोजनामा सरोकारवालाहरुबीच समन्वयात्मक बैठक भएको हो ।

स्थानीय समुदायले बनको संरक्षण, संबद्र्धन र सदुपयोग गर्ने गरि नीति बनाउन सरोकारवाला सबैले पहल गर्नुपर्नेमा बैठकका सहभागीहरुले जोड दिएका छन् । ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाहरुले बनको संरक्षण गर्दै आएपनि बन पैदावर उपयोगको क्रममा उनीहरुलाई नै विभिन्न किसिमबाट समस्या आइपर्ने गरेको भन्दै बैठकका सहभागीहरुले स्थानीय बन ऐन समुदायमैत्री हुनुपर्नेमा जोड दिए ।

बैठकमा बोल्दै बकैया गाउँ कार्यपालिका सदस्य लक्ष्मी माझीले ग्रामीण भेगका नागरिकले विकासका क्रममा पनि वनको वाधा झेल्नुपरेको भन्दै नागरिकका लागि सहज नीति बनाउनुपर्ने बताइन् । वन संरक्षण गर्नेको कदर नभएको र सिमित मानिसले बनको दुरुपयोग गरेको भन्दै ४ नम्बर वडाध्यक्ष राजन दंगालले यस्तो अवस्थाले गर्दा स्थानीयहरुमा निराशा छाएको बताए । दायित्व वोध गराउन नागरिक स्वयंलाई अपनत्व वोध गराउनुपर्नेमा जोड दिँदै अध्यक्ष दंगालले स्थानीय नागरिकलाई अधिकारसम्पन्न बनाउने तर्फ सबैले ध्यान दिन अनुरोध पनि गरे । समुदायले संरक्षण गरेपछि बनको मुहार फेरिएको ५ नम्बर वडाध्यक्ष शेरमान घलानको भनाई थियो ।

बैठकमा स्वागत गर्दै सामुदायिक बन उपभोक्ता महासंघ बकैयाका अध्यक्ष भक्त खत्रीले समुदायमैत्री नीति बनाउन महासंघले निरन्तर समन्वय र पहल गर्ने बताए । बैठकका सहभागीहरुलाई सम्बोधन गर्दै बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले कानूनमा स्पष्ट जिम्मेवारी नभएका कारण स्थानीय तह अलमलमा रहेको बताए ।

स्थानीय तहले आफ्नो अधिकारको सबै क्षेत्रमा राम्रोसँग काम गरिरहेको सन्दर्भमा लागिपर्ने हो भने राम्रोसँग काम गर्न सक्ने अध्यक्ष खनालको भनाई थियो । जनताले जोगाएको वनलाई जनताको रेखदेख र निगरानीमा सदुपयोग गर्न कुनै समस्या नभएको तर कानूनमा स्पष्ट भई आउनुपर्ने अध्यक्ष खनालको भनाई छ । सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईंले बन जोगाउनेलाई नै बनको वास्तविक माया हुने बताए ।

बैठकमा बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी, सामुदायिक बन उपभोक्ता महासंघका बागमती प्रदेशका रामहरि शर्मा लगायतले मन्तव्य दिँदै ऐन नियम बनाउँदा सबै सरोकारवालासँग समन्वय गरेर अघि बढ्ने र उपभोक्तालाई दक्ष बनाउँदै जाने बताए ।

सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईंको अध्यक्षता तथा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यमा बैठक बसेको हो । बैठकमा बकैया गाउँ कार्यपालिकाका सदस्य तथा कर्मचारीहरुका अतिरिक्त डिभिजन बन कार्यालय मकवानपुर र सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधिहरु सहभागी थिए ।