पशुपालनबाट स्वरोजगार बनेका राजन

हेटौंडाः मकवानपुरको आमभन्ज्याङ्ग–५ (हाल मकवानपुरगढी गाउँपालिका–६), चक्रपानी बस्ने २९ बर्षीय राजन तिमल्सिना निम्न वर्गीय आयस्रोत भएको परिवारमा जन्मिएका थिए । उनको बाल्यकालमा घरायसी आर्थिक अवस्था सामान्य भएकाले उनले गाउँकै स्कुलबाट साधारण लेखपढ मात्र गरेका छन् । रोजगारी र अवसरको खोजीमा केही वर्षअघि उनको परिवार काभ्रे जिल्लाबाट मकवानपुरको आमभन्ज्याङ्गमा बसाइँसरी आएको थियो । गाउँको घर खेत छोडेर रित्तो हात मकवानपुर आएका उनको परिवारले सुरुवातमा अरुको घरजग्गा भाडामा लिई खेती किसानीबाट जीविकोपार्जन गर्न थाल्यो । १२ जनाको यो परिवारलाई उतिबेला जति काम गरे पनि खान लाउन धौ धौ हुन्थ्यो । त्यसैले राजन र उनका दाजु कामको खोजीमा यताउति धाइरहन्थे ।

पशुपालनबाट स्वरोजगार बनेका राजनको गोठमा रहेका गाई

पोखरा, काठमाण्डौं लगायत सहरमा केही बर्ष अरुको पसलमा काम गरेका ऊनी आर्थिक प्रगतिको अभिलाषा बोकेर २०७२ सालमा साउदी अरब पुगे । त्यहाँ २–३ बर्ष काम गर्दा पनि आफूले सोचेको जति कमाउन नसक्दा दिक्दार भई आफ्नै देश फर्किए । साउदीको त्यो मरुभूमिमा पसिना बगाउनुको साटो आफ्नै गाउँ घर, आफ्नै देशमा केही गर्छु भन्ने उद्देश्य बोकेर स्वदेश फर्किएका उनले आफ्नो परिवारसँगै मिलेर परम्परागत पशुपालनलाई व्यवसायीकरण गर्न खोजे । त्यसको लागि उनलाई पैसाको आवश्यक थियो । ‘के खोज्छस् काना, आँखो’ भनेझैं उनी गाउँमा आईपुग्दा आफ्नै गाउँको एकीकृत शत्रुजीव व्यवस्थापन कृषक सहकारी संस्था लि. मकवानपुरगढी–६ ले धमाधम लगानी गरिरहेको थियो । सहकारीले नेपाल सरकार अन्तर्गतको युवा स्वरोजगार कर्जा स्थानीय बेरोजगार युवा साथै वैदेशिक रोजगारबाट फर्केकाहरुलाई लगानी गरिरहेकोे जानकारी पाएपछि उनी पनि कार्यक्रमबारे बुझ्न संस्थामा गए । आफै त्यस सहकारीको सदस्य भएकोले उनले यस कार्यक्रममा आफ्नो रुची र योजना सुनाए ।

पशुपालनबाट स्वरोजगार बनेका राजनको गोठमा रहेका भैंसी

संस्थाले सहर्ष उनको प्रस्ताव स्वीकार गरी गाईभैंसी पालन परियोजनाको लागि २०७५/०१/०४ मा दुई लाख रुपैयाँ लगानी गर्यो । उनले उक्त रकमबाट ४ ओटा जर्सी जातको गाई खरिद गरे । आफुसँग भएको दुई गाई समेत ६ वटा गाईको लागि गोठ सुधार गरि व्यवस्थित गरे । उक्त कर्जाको नियम अनुसार मासिक व्याज, बचत, त्रैमासिक किस्ता नियमित बुझाएर उनी संस्थाको लागि असल कर्जावाला सदस्यको रुपमा परिचित छन् । दूध बेचेर मासिक ३५–४० हजार खर्च कटाएर बचाउने उनी प्राप्त नाफाबाट पुनः गाई/भैंसी थप्दै जान्छन् । हाल उनको गोठमा ८ वटा गाई र २ वटा भैंसी छन् । साथै व्यवसायबाट भएको आम्दानी र परिवारका सदस्यले गरेको कृषि व्यवसाय तथा तरकारी खेतीबाट जम्मा भएको रकमबाट ७ कठ्ठा जग्गा किनेर आफ्नै घर घडेरी जोडेका छन् । हाल उनको परिवार खुशीसाथ बसेका छन् ।

आफ्नो गाईभैंसीको साथमा राजन तिमल्सिना
व्यवसायमा आत्मनिर्भर बन्न गरिएको घाँस खेती ।

उनीहरु आफ्नै जग्गामा विभिन्न जातका घाँस खेती गरि व्यवसायमा आत्मनिर्भर बनेका छन् । व्यवसायबाट परिवारका ५ छोराछोरीको शिक्षा, पालनपोषण, घर खर्च, सहकारीहरुमा बचत गर्छन् । अन्यत्र कसैको रोजगारी नभए पनि सबै खर्च राम्रैसँग चलेकोमा उनी खुशी छन् । भन्छन्, ‘यति नै कमाउनको लागि आफ्नो घर, गाउँ देश नै छोडी विदेश जानुभन्दा त परिवारको साथमा बसेर आफ्नै ठाउँमा काम गर्नु कहाँ हो कहाँ राम्रो छ, स्वरोजगार कोष र सहकारीले हामीलाई ठूलो गुण लगाएको छ ।’ परिवारका सबै मिलेर काम गरेकोले यो व्यवसायमा लागत कम छ । कामबाट राम्रो आम्दानी भएको र आफू यसबाट सन्तुष्ट रहेको उनी बताउँछन् । सामान्य मान्छेलाई विश्वास गरि बिना धितो, नगन्य व्याजमा, बिमा सहित लाखसम्म लगानी गरि व्यवसायी बनाएकोमा उनी सम्बन्धित सबैप्रति कृतज्ञ रहेको बताउँछन्, भन्छन्’ स्वरोजगार कोषको थप कर्जा लिन पाए व्यवसाय दर्ता गरेर अझै बिस्तार गर्न हुन्थ्यो ।’